सुर्खेत । नेपाल राष्ट्र बैंक र कर्णाली सरकारकै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कमा कर्णाली प्रदेशको खेतीयोग्य जमिन र सिँचाइ सुविधा उपलब्ध सम्बन्धी तथ्याङ्कमा गोलमाल भएको पाइएको छ ।
वार्षिक प्रतिवेदन (२०८०÷०८१) अनुसार नेपाल राष्ट्र बैंकले तयार पारेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन सम्बन्धी कर्णाली प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल ३ लाख २७ हजार ९० हेक्टर छ । अघिल्लो वर्षको तुलनामा १.९४ प्रतिशतले यो क्षेत्रफल बढेको राष्ट्र बैंकले जनाएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार कर्णालीमा कुल खेतीयोग्य जमिन दुई लाख ८७ हजार ७६१ हेक्टर रहेकोमा दुई लाख ६०२ हेक्टरमा मात्र खेती भएको छ ।
प्रदेशको मन्त्रालयले खेती भएको भनेर उल्लेख गरेको क्षेत्रफलकै हाराहारीमा सिँचाइ सुविधा नपुगेको जमिन भनेर राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख गरेको छ । राष्ट्र बैंकको प्रतिवेदन अनुसार कर्णालीमा दुई लाख ६६ हजार ५२३ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा सिँचाइको सुविधा छैन । राष्ट्र बैंकले कर्णालीमा अहिलेसम्म जम्मा ६० हजार ५६७ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा पुगेको उल्लेख गरेको छ ।
मन्त्रालयले भने सिँचाइ सुविधा पुगेको कुल क्षेत्रफल ७० हजार ६४० हेक्टर रहेको जनाएको छ । जसमध्ये वर्षैभरि सिँचाइ उपलब्ध हुने क्षेत्रफल ३८ हजार ३३८ र आंशिक सिञ्चित हुने क्षेत्रफल ३२ हजार ३०२ हेक्टर रहेको जनाएको छ । कर्णाली सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाए पनि सिँचाइ सुविधा विस्तार हुन नसकेको राष्ट्र बैंकले औँल्याएको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा वर्षमा कुलोद्वारा सिञ्चित क्षेत्रफल ४८ हजार ३२२ हेक्टर छ । त्यस्तै नहरद्वारा सिञ्चित क्षेत्रफल १० हजार ४६९ हेक्टर छ । बोरिङद्वारा सिञ्चित क्षेत्रफल २ हेक्टरमात्र छ ।राष्ट्र बैंक र प्रदेश सरकारको तथ्याङ्कमा फरक परेकोबारे मन्त्रालयलाई पनि अवगत छ । ‘राष्ट्र बैंकको तथ्याङ्कमा त्यहाँ खेती भएको जमिनको क्षेत्रफल बढेको देखाएको छ । मन्त्रालयका सूचना अधिकारी पूर्णबहादुर थापाले अहिले खेतीयोग्य जमिन बाँझो छाडेर विदेशतिर जानेको संख्या बढेको बताएका छन्
गाउँमा श्रमशक्ति नभएको र सहरी क्षेत्रमा खेतीयोग्य जमिन मासिँदै गइरहेको बताएको छ । त्यस कारण खेतीमा कमी आएको थापाको भनाइ छ । यो विषयमा मन्त्रालयमा छलफल गरिने पनि उनले बताए । राष्ट्र बैंकको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख बाबुराम कोइराला आफूहरूले सार्वजनिक गरेको तथ्याङ्क प्रदेश तथा जिल्लास्थित सम्बन्धित विषयका कार्यालयबाटै सङ्कलन भएको बताएका छन् ।
नेपालीरैबार । २०८१ पुष २४, बुधबार