
सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित घन्टाघर नजिक निर्माणाधीन पार्कमा नगरपालिकाले कंक्रिटयुक्त मैदान बनाउन थालेपछि स्थानीयले असन्तुष्टि जनाएका छन् । पर्यावरणमैत्री र हरित नगर बनाउने घोषणा गरेकी प्रमुख मोहनमाया ढकाल नेतृत्वको स्थानीय सरकारले नै पार्कमा कंक्रिटयुक्त संरचना बनाउन थालेपछि स्थानीयले असन्तुष्टि जनाएका हुन् ।
कंक्रिटका संरचना बनाउँदा उक्त ठाउँ न मैदान जस्तो न पार्क जस्तो बनेको स्थानीय व्यापारी रमेश कार्कीले बताए । ‘कंक्रिटको मैदान बनाउनुभन्दा हरियाली मैदान बनाइदिएको भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘यो त न मैदान जस्तो भयो न त पार्क जस्तो नै ।’
हरित नगर बनाउने घोषणा गरे पनि नगरपालिका कंक्रिटयुक्त पार्क बनाउन कस्सिएको अर्का स्थानीय सुमन माकुनेले बताए । ‘कुरा एउटा गरेर अर्कै काम गर्ने नेताहुरूको चरित्र नै भैसक्यो,’ उनी भन्छन्, ‘पार्क बनाउने भनेर कंक्रिटको मैदान बनाउने उपाय कसले दिएछ ? अचम्म लागिरहेको छ ।’
पार्कमा अहिले ढलान नै गरेर दैलेख र रुकुम पश्चिमबाट ल्याइएका पत्थर मिलाएर राख्न थालिएको छ । स्थानीयको गुनासोपछि अनुगमनमा गएको पालिकाको टोलीले पहिलो बिल भुक्तान दिँदा नै पर्यावरणमैत्री बनाउन सुझाव दिएको थियो ।
घन्टाघर पार्क पश्चिम डबली निर्माण गर्न गत असोज ४ गते प्रसन्न निर्माण सेवासँग नगरपालिकाले सम्झौता गरेको थियो । कूल लागत स्टिमेट एक करोड ७० लाख ५६ हजार ६ सय भए पनि कम्पनीले ९६ लाख ९६ हजार २९५ मा ठेक्का लिएको थियो । अहिले निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
यता, नगरप्रमुख ढकालले भने स्थानीय सामग्री प्रयोग गरेर पार्क निर्माण गरिएको दाबी गरिन् । ‘हामीले स्थानीय सामग्री प्रयोग गरेर पार्क निर्माण गरेका छौं,’ उनले भनिन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा झण्डै तीन लाख नागरिकको बसोबास छ ।

नेपालीरैबार । २०८१ पुष २५, बिहीबार