कर्णाली प्रदेश अस्पतालमा छुट्टै मानसिक उपचार युनिट स्थापना गर्ने तयारी

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेश अस्पतालमा छुट्टै मानसिक स्वास्थ्य उपचार युनिट स्थापना गर्न लागिएको बताएका छन् । बिहीबारदेखि वीरेन्द्रनगरमा सुरु भएको स्वास्थ्यकर्मीहरूका लागि मानसिक स्वास्थ्यसम्बन्धी ‘एमएच ग्याप मोडेल टु बि’ को सुभारम्भ गर्दै मन्त्री भण्डारीले मानसिक स्वास्थ्य समस्याको उपचार गर्न छुट्टै सुविधा सम्पन्न युनिट स्थापना गर्न गृहकार्य भइरहेको बताए ।

मानसिक स्वास्थ्यको प्रवर्द्धन गर्न प्रदेश भित्रका सबै जिल्लादेखि वडातहसम्म रहेका स्वास्थ्य संस्थाहरूले सरकारद्वारा तय गरेको रणनीति अनुरुप अगाडि बढे स्वस्थ समाज निर्माण गर्न सकिने मन्त्री भण्डारीको भनाइ थियो । पछिल्लो समय सानै उमेरका बालबालिकामा पनि मानसिक समस्या विकराल बन्दै गएका प्रति सरकार सचेत रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले यसको निराकरणमा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुने बताए ।

‘कलिलै उमेरमा पनि मानसिक समस्या देखा परेको छ । समुदायदेखि विद्यालय तहमा पनि यो समस्या छ,’ मन्त्री भण्डारीले भने, ‘भर्खरै हामीले डोल्पाबाट नौ जनालाई उद्दार गरेर ल्याएको छौँ । हामीकहाँ मृत्युपछि मात्रै समस्या पहिचान गर्ने परिपाटी छ । सरकारले मानसिक स्वाथ्यका क्षेत्रमा बजेट बढाउँदै लगेको छ । यसको अन्त्य गर्न सबैले हातेमालो गरेमात्रै सम्भव छ ।’

मानसिक स्वास्थ्यका क्षेत्रमा सरकारले निशुल्क उपलब्ध गराउने औषधिको उपलब्धता सुनिश्चित गरी मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम् रहने मन्त्री भण्डारीले बताए । तालिमपश्चात मानसिक स्वास्थ्यप्रति समाजमा रहेको नकारात्मक दृष्टिकोणकोण चिर्दै समस्यामा रहेका व्यक्तिलाई खुलेर आउने वातावरण प्रशिक्षार्थीले तय गर्नुपर्ने मन्त्री भण्डारीको धारणा थियो ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहीबारदेखि सुरु भएको मानसिक स्वास्थ्यसम्बन्धी तालिम पाँच दिनसम्म चल्नेछ । उक्त तालिममा कर्णालीका १० वटै जिल्लाका प्राथमिक, आधारभूत, शहरी तथा अन्य स्वास्थ्य संस्थामा कार्यरत जनस्वास्थ्य निरीक्षक, सिनियर अहेब, अहेब लगायत २२ जना स्वास्थ्यकर्मी सहभागी छन् ।

तपाईको प्रतिक्रिया