
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनतालाई सूचना दिने विषयबाट प्रशासनिक संयन्त्र भाग्ने अवस्था नरहेको बताएका छन् । आज सुर्खेतमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको प्रदेश मन्त्रालय र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीहरूबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन् ।
’जनतालाई सूचना दिने कुराबाट प्रशासनिक संयन्त्र भाग्ने अवस्थाको अन्त हुनुपर्छ,’ उनले भने ।सरकारले गरेका काम जति धेरै जनताका माझ पु¥याउन सक्यो त्यति नै गलत प्रवृत्तिको अन्य हुने उनको भनाइ छ । प्रदेश सरकार सुशासन र पारदर्शिता कायम गर्न र भ्रष्टाचारको अन्त्य गरेर समाजमा देखिएका विकृति र विसङ्गतिको अन्त्य गर्ने काममा लागेको उनले बताए ।
सरकारले गरेका राम्रा कामको सहीरूपमा प्रचार नहुँदा जनताले केही नगरेको जस्तो बुझ्ने गरेको उनको भनाइ छ । सही सूचना दिँदा कहाँ, कसले, के कमजोरी गरेको छ भनेर जनताले थाहा पाउने हुँदा कमजोरी गर्नेहरू समयमै सच्चिनुपर्ने बताए ।
कार्यक्रममा सहभागी प्रदेश सरकार र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीहरूलाई सत्य सूचना नागरिकलाई दिनसमेत मुख्यमन्त्री कँडेलले निर्देशन दिए ।

नेपालीरैबार । २०८१ पुष २६, शुक्रबार