सुर्खेतका विपन्न र दलित महिलालाई आयआर्जनमा जोड्न अनुदान

सुर्खेत । जिल्लाका दुई पालिकामा चार वर्षको अवधिमा विपन्न वर्गलाई आयआर्जन गरी स्वरोजगार बनाउन २२ लाख रुपियाँभन्दा बढी रकम अनुदान दिइएको छ । दलित महिला सङ्घ सुर्खेतले जिल्लाका वीरेन्द्रनगर र भेरीगङ्गा नगरपालिकाका ३८ जना दलित, विपन्न दलित महिलालाई २२ लाख ६० हजार रुपियाँ नगद अनुदान दिएको हो ।

नेपालमा दलित महिला र किशोरीको मानव अधिकार प्रवर्धन परियोजनाबाट उनीहरूलाई २०७८ देखि बिउपुँजी तथा अनुदान रकम दिइएको हो । उक्त रकमबाट दलित तथा विपन्न महिलाले स्थानीयस्तरमा उद्यमी बनी आत्मनिर्भर बन्ने कोसिस गरिरहेका छन् । धेरै जसो रकम कुखुरापालन, फ्रेस हाउस, घुम्ती पसल, बाख्रापालनमा लगानी गरिएको छ ।

सुरुमा प्रतिव्यक्ति २० हजार, त्यसपछि ४२ हजार रुपियाँ अनुदान दिइएको थियो । त्यसपछि घुम्ती कोषबाट प्रतिव्यक्ति २५ हजारका दरले र पछिल्लो समय बिउपुँजी भनी प्रतिव्यक्ति ३५ हजार रुपियाँका दरले अनुदान दिइएको दलित महिला सङ्घका सचिव खगिसरा वलीले बताए । रकम वितरणअघि समूहमा आबद्ध विपन्न महिला छनोट गरी दिने गरिएको छ । एक व्यक्तिले छ महिनाभित्र आफूले लिइसकेको रकम फिर्ता गरेर अर्को सदस्यलाई दिनुपर्ने हुन्छ । संस्थाबाट लिइएको रकम लगानी गरेपछि सदुपयोग भएको छ÷छैन भनेर बेला बेलामा अनुगमन पनि गर्ने गरिएको सचिव वलीले बताए ।

अहिलेसम्म गरिएको लगानी धेरैले सदुपयोग गरेको उनको दाबी छ । रकम दिनुअघि संस्थाले उनीहरूलाई उद्यम तालिम, योजनालगायतका सिप प्रदान गर्ने गर्छ । लगानी नडुबोस् भनेर उद्यमी बन्न सिकाउने, व्यापार योजना बनाउन सिकाउने र त्यसपछि समूहमार्फत रकम दिई उद्यमी बन्न प्रेरित गर्ने गरेको उनको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले सङ्घ संस्थाले गरेको लगानीको बेला बेलामा अनुगमन गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइनुपर्ने सुझाव दिए । उनले महिलाले लिएको रकम खेर नजाने भन्दै कुनै पनि सरकारी वा गैरसरकारी संस्थाबाट लिइएको रकम सदुपयोग गर्न आग्रह गरे । नगरपालिकाले पनि दलित, विपन्नलाई उद्यमी बनाउन विभिन्न कार्यक्रम र बजेट तर्जुमा गरेको जानकारी दिँदै त्यसमार्फत पनि आत्मनिर्भर बनाउन लागिएको उल्लेख गरे ।

वीरेन्द्रनगर नगरपालिका–१ की लक्ष्मी विकले घुम्ती पसल गरिरहेकी छिन् । संस्थाबाट पाएको अनुदानले घुम्ती पसल सञ्चालन गरेको र त्यसमा पुनः थप गरी पसल विस्तार गर्ने योजना रहेको उनले बताइन् ।

यसैबिच बुधबार वीरेन्द्रनगर नगरपालिकाका पाँच जना विपन्न महिलालाई बिउपुँजी रकम भनी प्रतिव्यक्ति ३५ हजारका दरले रकम दिइएको छ । बिहीबार भेरीगङ्गा नगरपालिकाका पाँच जनालाई सोही बराबरको रकम प्रदान गरिने दलित महिला सङ्घकी सचिव खगिसरा वलीले बताए । यस रकमबाट उद्यम विकास गरी आयआर्जन गर्न सघाउने उद्देश्यले सो रकम प्रदान गरिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया