कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइन विस्तार अवरुद्ध

सुर्खेत । १३२ केभिए कोहलपुर–सुर्खेत विद्युत् प्रसारण लाइन विस्तारमा देखिएको विवाद अझै सुल्झिन सकिरहेको छैन् । जसले गर्दा आयोजना अघि बढाउन सकस भइरहेको छ भने अहिले काम अवरुद्ध भएको छ ।

बाँकेको बैजनाथस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध सिर्जना गरेका छन् । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार वैजनाथ गाउँपालिकाको वडा नं. १ गाभर र वडा नं. ४ को बानियाँभार हुँदै लाइन विस्तार गर्नुपर्ने छ तर उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाएका छन् ।

पछिल्लो पटक विवाद समाधान गर्न प्रदेश तथा सङ्घीय सांसदसमेत प्रभावित क्षेत्रमा पुगेर स्थानीयसँग छलफल गरेका छन् तर स्थानीयले कुनै पनि हालतमा बस्तीबाट विद्युत् विस्तार गर्न नहुने बताइरहेका छन् ।

विवादकै कारण आयोजनाको काम अघि बढाउन समस्या भएको आयोजना प्रमुख रवि चौधरीले बताएका छन् । विवाद समाधानका लागि दुई प्रदेशका सरकार प्रमुख प्रदेश तथा सङ्घीय सांसदसमेत त्यस क्षेत्रमा पुगथेका थिए  ।

उक्त विषय थप पेचिलो बन्दै गएको छ तर आयोजनाको विवाद भने समाधान हुनसकेको छैन । विवादितबाहेक अन्य स्थानको काम करिब अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । विवाद समाधान भए अबको तीन महिनामा काम सम्पन्न गर्न सकिने आयोजना प्रमुख चौधरीले जानकारी दिएका छन्  ।

लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । हालसम्म आयोजनाको ८० प्रतिशत प्रगति हासिल भएको छ । अझै २० प्रतिशत काम गर्न बाँकी छ । जग्गा र वनका कारण आयोजनाले तोकिएको मितिमा कामसमेत गर्न सकेको छैन् । भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोड रुपियाँमा आयोजनाको ठेक्का पाएको हो । विवाद नै विवाद हुँदा आयोजनाले अपेक्षित रूपमा काम गर्न सकेको छैन भने विवाद पनि समाधान हुन सकेको छैन् ।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विद्युत् विस्तारमा सहजीकरणका लागि सङ्घीय सरकारसँग माग गरिरहेका छन् । उनले समय समयमा कामका बारेमा अनुगमन गर्ने र देखिएको विवाद समाधानमा चासो राखेका छन् ।

विवाद समाधान गर्न सम्बन्धित क्षेत्रलाई उनले निर्देशनसमेत दिएका छन्  । प्रदेश समृद्धिको योजना भएकाले सबै क्षेत्रबाट पहल थाल्नुपर्ने उनको भनाइ छ, यस्तै सुर्खेतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हृदयराम थानीले पनि १३२ केभिए प्रसारण लाइन विस्तारबारे चासो दिएका छन्  ।

बिहीबार मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई भेटेर उनले आयोजनाको कामका विषयमा छलफल गरेका छन् । १३२ केभी प्रशारण लाइन सम्पन्न नहुँदा सधैँ विद्युत् अवरुद्ध हुने समस्याबाट सुर्खेती जनताका साथै सम्पूर्ण कर्णालीवासीले भोगिरहेको समस्यालाई सम्बोधन गर्न प्रशारण लाइनको काममा हाल देखिएका समस्याहरूलाई छिट्टै समाधान गर्नुपर्नेमा उनले मन्त्रीको ध्यानाकर्षणसमेत गराएका छन् ।

तपाईको प्रतिक्रिया