चिसो बढेपछि जाजरकोट भूकम्पपीडितको बिचल्ली, बालबालिकालाई सुरक्षित राख्न समस्या

जाजरकोट । चिसो बढेपछि जाजरकोट भूकम्पपीडितको बिचल्ली भएको छ  । पुनर्निर्माणको पर्खाइमा एक वर्षदेखि टहरामुनि बसेका पीडितलाई पुसको चिसो तुषारो र जाडोले ज्यान जोगाउनसमेत मुस्किल भएको छ  । पुस महिनाको चिसो सिरेटो छल्ने न्यानो बास नहुँदा टहरामुनि गरिब, विपन्न, वृद्धवृद्धा, गर्भवती, सुत्केरी महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगी समस्यामा परेका छन् । सरकारले पुनर्निर्माण गरिदिए घर बनाउने आशामा बसेका पीडित वर्षामा पानीले र हिउँदमा जाडोले बिचल्लीमा परेका छन् ।

न्यानो आवास नहुँदा छाकको भन्दा रातको चिन्ता लाग्ने गरेको उनले गुनासो सुनाएका छन् । चिसो बढ्दै गएपछि आफूभन्दा पनि बालबालिकालाई सुरक्षित राख्न समस्या भएको गुनासो उनले गरेका छन् । सोही गाउँकै गीता विकका अनुसार श्रम रोजगारीले छाक टारेको बेला गत वर्षको भूकम्पले घरबारविहीन बनाइदिएपछि विचल्ली भएको छ । पोषणयुक्त खाना र न्यानो बास नपाउँदा चिसोका कारण सुत्केरी आमा र बच्चाको स्वास्थ्य प्रतिकूल बन्दै गएको छ ।

सुत्केरी कृष्णा नेपालीले सरोकारवाला निकायले ध्यान नदिँदा पुसको चिसोमा टहरामुनि शीतको थोपासँगै रात कटाउनु परेको बताउनुभयो । भूकम्प गएको करिब १५ महिना बित्न थाले पनि सरकारले पुनर्निर्माण सुरु नगर्दा पुसको चिसोबाट बच्न मुस्किल भएको उनको भनाइ छ ।

गत वर्षको भूकम्पले धनजनको बढी क्षति नलगाड नगरपालिका र भेरी नगरपालिकामा गरेपछि सोही क्षेत्रका पीडितले दोस्रो किस्ता पाउन सकेका छैनन् । भेरी नगरपालिका–१, रावतगाउँ, कोल्चौर, मेदै, पिपे, रिम्नागाउँ, नलगाड नगरपालिका–१ चिउरी, पाली, कल्पतलगायतका गाउँबस्तीमा गरिब, विपन्न, दलित, जनजातिको बाहुल्यता छ । पीडितले घर बनाउन नसकेपछि टहरामुनि बसेका छन् ।

केही दिन यता अत्यधिक चिसो बढेपछि सुत्केरी गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीलाई ज्यान जोगाउन मुस्किल भएको छ । सरकारले समयमा भूकम्पपीडितको न्यानो आवास निर्माणमा ध्यान नदिए चिसोका कारण सुत्केरी आमा, नवजात शिशुलाई निमोनिया हुने खतरा बढेको छ ।

प्रमुख जिल्ला अधिकार मेखबहादुर मङ्ग्रातीले पुनर्निर्माणसम्बन्धी सरकारले कार्यविधि निर्माण गरेकाले छिट्टै पुनर्निर्माणको तयारीमा जुट्ने बताएका छन् । उनले भूकम्पपीडित लाभग्राहीको दोस्रो किस्ता रकम वितरण गर्न स्थानीय तहलाई आग्रहसमेत गरेका छन् ।

सरकारले तत्काल अस्थायी आवास निर्माणका लागि दिएको २५ हजार रुपियाँ अनुदानबाट दोस्रो किस्ता पाएपछि दिने सर्तमा साहुबाट कर्जा लिएर बनाएको शीत तप तप चुहिने टहरामुनि पीडितले रात बिताउँदै आएका छन् । बारेकोट गाउँपालिकाले दोस्रो किस्ताको रकम भुक्तानी गरेको छ ।

भेरी नगरपालिका, छेडागाड नगरपालिका, नलगाड नगरपालिका, कुसे गाउँपालिका, शिवालय गाउँपालिका र जुनीचाँदे गाउँपालिकाले दोस्रो किस्ताको रकम भुक्तानी प्रक्रिया ढिलासुस्ती गरेपछि घरमा साहु रकम लिन आउँदा शीतले भिजेका बिस्तारा छोडेर भाग्नुपर्ने अवस्था आएको पीडित बताउँने गरेका छन् ।

तपाईको प्रतिक्रिया