
सुर्खेत । दैलेखका स्थानीय सरकारले मौलिक कला संस्कृतिको संरक्षण गर्ने प्रतिवद्धता जनाएका छन् । भगवतिमाई गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकाले स्थानीय मौलिक कला संस्कृति (पुराना बाजा, भाका, लयका गीत तथा नृत्य) लाई जगेर्ना गर्ने प्रतिवद्धता जनाएका हुन् ।
युवालयले पुस २४ गते (बुधवार) भगवतिमाई गाउँपालिका र २५ गते (विहिवार) डुङ्खेश्वर गाउँपालिका दैलेखमा परियोजनासँग जोडिएका युवाहरु तथा स्थानीय सरकार र सरोकारवालासंग समिक्षात्मक कार्यक्रम गरेको थियो ।
विगत १४ महिना देखि युवालयद्धारा सञ्चालित युवासँगको हाम्रो सहयात्रा परियोजना यहि जनवरी देखि समाप्त हुँदैछ । युवालयले परियोजनाको अन्त्य तिर युवा तथा स्थानीय सरकारसंग गरेको समिक्षात्मक कार्यक्रममा बोल्दै भगवतिमाई गाउँपालिका दैलेखका अध्यक्ष गणेशबहादुर थापाले परियोजनाले दैलेखका युवालाई कला र संस्कृति संरक्षणमा बाटो देखाई दिएको बताए । उनले आगामी दिनमा परियोजना सकिएपनि गाउँपालिकाबाट कला संस्कृतिको लागि बजेट छुट्याइ कला संस्कृति सिक्नका लागि युवालाई प्रेरित गर्ने प्रतिवद्धता जनाए ।
यस्तै भगवतिमाई गाउँपालिका दैलेखका उपाध्यक्ष मीना कुमारी खड्काले लोप हुन लागेका कला संस्कृति संरक्षण गर्न परियोजनाले सहयोग गरेकोमा धन्यवाद व्यक्त गरिन् । परियोजना अन्त्य पश्चात पनि आफ्ना पालिकाका युवालाई कला संस्कृतिमा लागि रहनका लागि आफ्नो र पालिकाको तर्फबाट सधै सहयोग गर्ने उनको भनाई छ ।
त्यस्तै डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार के.सीले ‘युवालयले थालेको कला, संस्कृति संरक्षण अभियान अत्यन्तै सहरानिय रहेको बताउँदै यस्ता कार्यक्रमको अरुले पनि सिको गर्नुपर्नेमा जोड दिएका थिए । मौलिक कला र संस्कृति संरक्षणसँगै पुस्तान्त्रणको कामलाई पनि अघि बढाउनुपर्ने भन्दै उनले परियोजना सकिएपनि कला संस्कृतिलाई संरक्षण गर्नका लागि पालिकाले बजेट छुट्याउने र युवालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
भगवतीमाई गाँउपालिका ६ शनिगाँउका १५ वर्षिय रमेश परियारले परियोजनासँग जोडिएर लहरे पैसेरी, पञ्चेवाजा र मारुनी नृत्य पुर्ण रुपमा सिक्न पाएको भन्दै परियोजनालाई धन्यवाद दिए । उनले आफुलाई परियोजनामा जोडिएर निकै फाइदा भएको र बाउबाजेले बजाएको, नाचेको देखेको कुरा आफुले हुबहु उर्तान सक्ने हुदा घरपरिवारपनि खुशी भएको बताए । “युवालयले विर्सन नसक्ने गुन लगाएको छ ।
यस्तै भगवतीमाईकै अर्का युवा संगीता परियारले पनि आफुहरुलाई यस परियोजनाले धेरै कुरा सिकाएको भन्दै धन्यवाद दिदै परियोजनाको अवधि थोरै भएको महशुस गरेको पनि उल्लेख गरिन् । ‘युवासँगको हाम्रो सहयात्रा’ परियोजना कोरियामा रहेको आर्थिक सहयोग तथा अक्सफामको प्राविधिक सहयोगमा युवालयले कर्णालीको दैलेख (भगवतीमाई गाँउपालिका, डुङ्खेश्वर गांउपालिका) र सुर्खेत (वीरेन्द्रनगर) तथा सुदुरपश्चिमको चम्कीचुहा नगरपालिकामा सञ्चालन भएको थियो ।
परियोजनाका मिडिया अफिसर सिर्जना बुढाथोकीले सुर्खेतसहित दैलेख र कैलालीका चार वटा पालिकाका दुई सय भन्दा बढी युवाहरुलाई कला संस्कृति जोगाउन प्रेरित गरिएको बताइन् । पुर्खाले बचाएर राखेका तर अहिले हराउने र बिर्सने अवस्थामा पुगेका बाजागाजा र संस्कृतिलाई जगेर्ना गर्न युवाहरुलाई सिकाउनु परियोजनाको उद्देश्य रहेको उनको भनाइ छ । उनले नयाँ पुस्ताले पनि पुरानो कला संस्कृतिको संरक्षण गर्नुपर्ने भावना विकास गराउने प्रयास भइरहेको बताइन् । परियोजनाले युवायुवतीहरुलाई लोपोन्मुख कला संस्कृतिबारे सिकाउने र प्राविधिक ज्ञान दिई आयआर्जनमा जोड्न कम्प्यूटरको ज्ञान समेत दिएको हो ।

नेपालीरैबार । २०८१ पुष २८, आईतवार