सुर्खेत । राष्ट्रका प्रमुख आर्थिक सूचकको सही प्रयोग गरेमात्रै नतिजा मुलक प्रतिफल प्राप्त हुने एक कार्यक्रममा सहमागीहरुले जोड दिएका छन् । आइतबार प्रमुख आर्थिक सूचक प्रयोग सम्वन्धि कर्णाली प्रदेशस्तरिय क्षमता अभिवृद्धिमुलक तीन दिने तालिमका सहभागीले यस्तो बताएका हुन् ।
तालिमको समापनमा बोल्दै तथ्यांक समन्वय कार्यालय सुर्खेतका समन्वय अधिकारी विनोद आचार्यले तथ्यांकको सही प्रयोगले मात्रै उत्कृष्ट नतिजा हासिल गर्न सकिने बताए । कुनै पनि राष्ट्रको समर्ग अवस्था तथ्यांकले बोल्ने उल्लेख गर्दै आचार्यले तथ्यका आधारमा नीति, कार्यक्रम तथा बजेटसँगै निर्णय लिन सकिए मात्रै राज्यको लगानीले प्रतिफल प्राप्त गर्ने बताए । कतिपय अवस्थामा गलत तथ्यांकले नतिजा नकारात्मक निस्कने उल्लेख गर्दै आचार्यले सहि नतिजाको प्रयोगले मात्रै दीगो विकास सम्भव रहेको बताए । देश विकासको महत्वपूर्ण आर्थिक क्षेत्रलाई सबल बनाउन आर्थिक सूचकलाई सही ढङ्गले प्रयोग गर्नुपर्ने उनले बताए ।
यस्तै, सुर्खेत बहुमुखी क्याम्पसका प्रमुख माधव खनालले तथ्यांकका आधारमा नीति तथा योजना नबनेसम्म आर्थिक तथा मानविय सूचकहरुमा सुधार हुन नसक्ने बताए । देशका आर्थिक सूचकहरु एकातिर हुने सरकारका प्राथमिकतामा अर्कोतर्फ हुनाले समाजका आधारभूत सूचक पुरा हुन नसकेको बताए । जनसंख्याको तथ्यांकका आधारमा सरकारले आफ्ना नीति तथा कार्यक्रम केन्द्रित गर्नुपर्ने उनले बताए ।
पत्रकार महासंघ सुर्खेतका कार्यसमिति सदस्य ओम शाहीले राज्यले वास्तविक तथ्यांकलाई ध्यान नदिदा विकासका सूचक ओझलमा परेको बताए । कतिपय अवस्थामा नीति निर्माण र कार्यान्वयनको तहमा रहेकाहरु जिम्मेवार नबन्दा वास्तविक सूचकहरु ओझेलमा परेको उनको भनाई थियो । पत्रकारिता क्षेत्रले राज्यका हरेक निकायले सार्वजनिक गर्ने तथ्यांकलाई विश्लेषणमार्फत वास्तविक अवस्था आमनागरिक सामु पु¥याउने काम गरिरहेको उल्लेख गर्दै शाहीले तथ्यमा आधारित रहेर मात्रै योजना बनाउन सके कर्णालीको वास्तविक अवस्था परिवर्तन गर्न समय नलाग्ने तर्क गरे ।
शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भएको उक्त तालिमको आइतबार समापन गरिएको थियो । केन्द्रीय तथ्यांक कार्यालयको आयोजनामा भएको उक्त तालिममा सुर्खेतस्थित प्रदेश सरकार मातहतका विभिन्न कार्यालयका योजना तथा तथ्यांक शाखामा कार्यरत कर्मचारी, आर्थिक पत्रकारितामा संलग्न पत्रकार लगायतलाई देशका प्रमुख आर्थिक सूचकहरुको प्रयोग विधिका बारेमा अभिमुखिकरण गरिएको थियो ।

नेपालीरैबार । २०८१ पुष २८, आईतवार