विपिनबारे बीबीसीले लेख्यो– नेपालको दुर्गम गाउँमा आशा जगायो

काठमाडौं । प्यालेस्टाइनी विद्रोही समूह हमास र इजरायलबीच युद्धविराम सम्झौता भएसँगै नेपाली विद्यार्थी विपिन जोशी रिहा हुने आशा पलाएको छ । उनको परिवारका सदस्यहरू विपिन सशुकल रिहा हुनेमा आशावादी छन् । युद्धविराम सम्झौतापछि विपिनबारे उनको परिवारसँग कुरा गरेर बीबीसीले समाचार प्रकाशन गरेको छ । उक्त समाचारमा हमास र इजरायलबीच युद्धविराम सम्झौताले नेपालमा विपिन रिहाइ हुने आशा जगाएको उल्लेख छ ।

’हामीले हिजो राति सम्झौताको बारेमा सुन्यौँ । हामी त्यस बेलादेखि धेरै खुसी र भावुक छौँ । आशा फर्किएको छ’, विपिनकी बहिनी पुष्पा भन्छिन् । बीबीसीमा प्रकाशित समाचारअनुसार केही समयअघि विपिनकी आमा पद्मा जोशीलाई इजरायली सेनाले भिडियो कलमा देखाएको फुटेजमा उनले आफ्नो छोरा देखेकी थिइन् । इजरायली सेनाले गाजाको अल–शिफा अस्पतालको सीसीटीभी क्यामेराबाट लिइएको फुटेज पद्मालाई देखाएको थियो ।

’यी १५ महिना अत्यन्तै कठिन भएका छन् । हरेक मिनेट म छोरोको बारेमा सोच्छु,’ पद्मा भन्छिन्, ’म इजरायली सरकारलाई उनको रिहाइलाई प्राथमिकता दिन अनुरोध गर्दछु ।’ सुदूरपश्चिम नेपालको कञ्चनपुरका विपिन हमासले बन्धक बनाएका मध्ये एक हुन् । उनी जीवित रहेको अनुमान गरिए पनि हालसम्म अवस्था भने अज्ञात नै छ । विपिनका आमाबाबु दुवै शिक्षक हुन् । उनीहरूका अनुसार विपिन पहिलोपटक विदेश गएका थिए ।

आइतबारबाट लागू हुने युद्धविरामअघि इजरायलले गाजामा आक्रमण भने रोकिसकेको छैन । इजरायलको पछिल्लो आक्रमणमा परी गाजामा २० जना प्यालेस्टाइनीले ज्यान गुमाएका छन् । इजरायलले युद्धविराम सम्झौता अनुमोदनका लागि मन्त्रिपरिषद्को बैठक बोलाएको छ । इजरायलको क्याबिनेटले उक्त सम्झौता अनुमोदन गरे आइतबारदेखि युद्धविराम लागू हुने छ । सँगै बन्धक तथा कैदीहरू रिहाइ हुने क्रम सुरु हुनेछ ।

युद्धविराम सम्झौता भएसँगै गाजामा खुसियाली छाएको छ । त्यहाँका नागरिक युद्धविराम सम्झौताको स्वागतका लागि सडकमा निस्केका तस्वीरहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रकाशन गरेका छन् । तर इजरायलले सम्झौता अनुमोदन गर्न गरिरहेको ढिलाइले आशंका बढाएको छ ।

तपाईको प्रतिक्रिया