एक्काइसौँ शताब्दीमा विश्वविद्यालयहरूको मनोबल कसरी बढाउने ?

                                                                              भीम रेग्मी
कार्ल माक्र्सले संसारलाई व्याख्या गर्नुभन्दा बदल्ने कुरामा जोड दिएको प्रसङ्गमा अल्बर्ट आइन्स्टाइनले भनेका थिए, ‘कुनै पनि समस्यालाई चेतनाको समानस्तरबाट समाधान गर्ने काम कठिन हुन्छ । यही कथ्यलाई सार्वभौम कुरा मानेर नेपालको वर्तमान आवश्यकतालाई हामीले ध्यान दिँदा त्रिभुवन विश्वविद्यालय (त्रिवि) सहित सबै विश्वविद्यालयको शैक्षिक प्रणालीलाई हेर्न, बुझ्न र बदल्न सिक्नुपर्छ । र, नेपालका सबै विश्वविद्यालयहरूमा उच्च शिक्षाको अवस्था सुधार र रुपान्तरण यहीँबाट मात्र सम्भव छ ।

त्रिविजस्तो भीमकाय शैक्षिक संस्थामा प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको यसप्रतिको लगाव र अपनत्व बढाउन त्रिविले केही रणनीतिहरू अपनाउन आवश्यक छ । यसले प्राध्यापकसहित सबै पक्षहरूबीचको सम्बन्ध सुदृढ बनाउन सके मात्र संस्थागत विकासमा सकारात्मक प्रभाव पार्छ । हाम्रो उच्च शिक्षाले नैतिकवान्, जिम्मेवार, आलोचनात्मक र रचनात्मकता भएका नागरिक उत्पादन गर्न नसकेको र शिक्षालाई बजारसँग नजोडेकै कारण बेरोजगार बढेको भन्ने आरोप खेप्नुपरेको छ । सन् २००० पछि जन्मेको नयाँ पुस्ता स्वदेशमा केही गर्न नसकिने निष्कर्षमा पुगेको छ । पछिल्लो समय यहाँबाट एक वर्षमा शिक्षाका लागि १ खर्ब रुपैयाँबराबरको रकम विदेशिने दिन छिट्टै आउनुमा माथिको कथ्य नै कारण बनेको छ । देशका नयाँ क्षमताहरूको पलायन रोक्नलाई सबैभन्दा पहिला यहाँका विश्वविद्यालयहरूले केही काम गर्नुपर्ने देखिन्छ ।

नयाँ र फरक विश्वविद्यालयको स्थापना

सङ्घीय सरकारको वा प्रदेश वा स्थानीय तहको दायित्वमा खोलिने विश्वविद्यालयहरूले अबका समयमा त्रिविको पठनपाठन, पाठ्यक्रम, क्षेत्र र सीमाभन्दा फरक हुने गरी स्थापना गर्ने कामलाई मात्र सान्दर्भिक मान्न सकिन्छ । नाममा जे भए पनि सबै विश्वविद्यालयहरूले चिकित्साशास्त्र, इन्जिनियर, कानुन, व्यवस्थापनका विषय आदि पढाउने गरी विश्वविद्यालयहरूको स्थापना गर्दा समाजमा राम्रो धारणा स्थापना भएको छैन । अबदेखि यहाँका सबै विश्वविद्यालयहरूले त्यहाँ काम गर्ने प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राखेर योजना, नीति बनाएर लागू गरेमा विश्वविद्यालयका प्राध्यापकहरूप्रति समाजमा सम्मानको भावना बढ्ने देखिन्छ ।

उच्च शिक्षाका केन्द्रहरूले अनुसन्धान र पुरस्कारको नयाँ मानाङ्क (राजनीतिक पूर्वाग्रहबाट बाहिर निस्केर) स्थापना गरेर प्राध्यापकहरूले दिने उत्कृष्ट शैक्षिक योगदानका लागि विशेष पुरस्कार, प्रमाणपत्र वा सम्मान दिनु आवश्यक छ । यसले उनीहरूलाई आफू संस्थाको महत्त्वपूर्ण अंश भएको महसुस गराएर विश्वविद्यालयप्रति अपनत्व बढाउँछ । तर, राजनीतिक रङका आधारमा संघ÷सङ्गठनको सिफारिसमा हुने पुरस्कार र दण्डले संस्थालाई झन् कमजोर बनाएका प्रशस्त उदाहरण छन् ।

विश्वविद्यालयमा कार्यरत प्राध्यापक र कर्मचारीहरूलाई आवश्यकताका आधारमा सबै विश्वविद्यालयहरूले उन्नतिको अवसर दिनुपर्छ । शैक्षिक मापनभन्दा बाहिरको उन्नति र अवसरलाई भन्दा उनीहरूको करिअर विकासका लागि स्पष्ट मार्गचित्र बनाउनु, पदोन्नतिको प्रक्रिया पारदर्शी बनाउनु र शिक्षण, अनुसन्धान तथा सेवा कार्यमा उत्कृष्टता प्रदर्शन गर्न उत्प्रेरित गर्नु विश्वविद्यालयहरूको दायित्वभित्र पर्छ । अब विश्वविद्यालयहरूले शैक्षिक संस्थासँगको प्राध्यापक– कर्मचारीको सम्बन्ध बलियो बनाउनु आवश्यक छ ।

संवाद र सहभागिता

विश्वविद्यालयहरूले शैक्षिक तथा सामाजिक कार्यक्रमहरू सेमिनार, अन्य सांस्कृतिक गतिविधिहरू आयोजना गरेर प्राध्यापकहरूको व्यक्तिगत सम्बन्धलाई समाजसँग जोड्नुपर्छ । विश्वविद्यालयका सफलता, अनुसन्धान र विकासका गतिविधिहरूमा प्राध्यापकहरूको नाम जोडेर सार्वजनिक गर्नु र कामप्रतिको लगावलाई मूल्याङ्कन गर्दा अपनत्वमा वृद्धि हुन्छ । अध्ययन, अध्यापनका लागि अनुकूल वातावरण सिर्जना गरेर अनुसन्धान र अन्य गतिविधिहरूका लागि आवश्यक उपकरण, प्रविधि र स्रोतसाधनको व्यवस्थापन गरी शैक्षिक स्वतन्त्रताका लागि नवीन विचार र विधिहरू प्रयोग गर्न प्रोत्साहन गर्नु आवश्यक छ ।

विश्वविद्यालयमा काम गर्ने प्राध्यापकहरूको मनोबल बढाउन र उनीहरूको संस्थाप्रतिको अपनत्वलाई थप मजबुत बनाउन ढिला भइसकेको छ । अब त्रिविसहित यहाँका विश्वविद्यालय नेतृत्वले आ–आफ्नो पहललाई संस्थागत रूपमा कार्यान्वयन गर्न सकेमा देशमा सकारात्मक नतिजा प्राप्त हुनेछ ।

विश्वविद्यालयहरूमा सामयिक र विषयगत अन्तक्र्रिया र छलफलका कार्यक्रमले प्राध्यापकहरूका विचार, छलफलको निष्कर्ष र सुझावलाई सम्बोधन गर्न योजना बनाउनु आवश्यक छ । विश्वविद्यालयको नीतिगत निर्णयमा सहभागी गराउन प्राध्यापक र कर्मचारीहरूको सहभागितालाई बलियो बनाउनुपर्छ । उनीहरूका सुझावलाई भौतिक र डिजिटल फोरमको माध्यमबाट खुला प्लेटफर्मको रूपमा पनि ग्रहण गर्नु न्यायिक हुन्छ । तर, सुझाव दिनेहरूले दलीय मापदण्डबाट मुक्त बनेर सोच्नु आवश्यक छ ।

शुल्क छुट र छात्रवृत्ति कार्यक्रम

विभिन्न सरकारी र गैरसरकारी कार्यालयहरूले आफ्नो कार्यालयमा काम गर्ने कर्मचारीका लागि विविध सहुलियत र सुविधाहरू दिएर काममा प्रोत्साहन गर्ने गरेको पाइन्छ । नेपालका वित्तीय संस्था, जीवन बीमा, दूरसञ्चार, विद्युत् आदि संस्थाहरूले जस्तै विश्वविद्यालयहरूले पनि त्यहाँ कार्यरत प्राध्यापक कर्मचारीका छोराछोरीलाई प्रतिस्पर्धाका आधारमा चिकित्सा, इन्जिनियर, कृषि, पशु, कानुन, विज्ञान, मानविकी, व्यवस्थापन, शिक्षाजस्ता तहमा छात्रवृत्ति, शुल्क छुट दिने व्यवस्था गर्नु आवश्यक छ ।

त्रिविका स्नातक कार्यक्रमदेखि स्नातकोत्तर तहमा सञ्चालनमा आएका एमए, एमबीए, एमबीएम, बीए एलएलबी, बीबीए, बीबीएम, बीसीए आदि कक्षाहरूमा विश्वविद्यालयले हाल भर्नाका लागि दिएको सङ्ख्याभित्रबाट वा सङ्ख्या थप गरेर प्राध्यापक कर्मचारीका छोराछोरीलाई अनिवार्य छात्रवृत्तिमार्फत पढाइमा सुविधा दिँदा यसले विश्वविद्यालयप्रति उनीहरूको लगाव र अपनत्व बढ्न जान्छ र विश्वविद्यालयको नतिजामा पनि परिवर्तन आउँछ । शुल्क छुटको माध्यमबाट त्रिविसहितका विश्वविद्यालयका प्राध्यापक र कर्मचारीका छोराछोरीहरूका लागि ट्युसन शुल्कमा विशेष छुटको व्यवस्था गर्न सकिन्छ ।

छात्रवृत्ति कार्यक्रम र आरक्षण कोटाको माध्यमबाट शैक्षिक योग्यताको मापनका आधारमा उनीहरूका लागि छात्रवृत्ति उपलब्ध गराउनु आवश्यक देखिन्छ । त्रिविले शिक्षक–कर्मचारीका छोराछोरीलाई पढाउन सहुलियत शैक्षिक ऋण उपलब्ध गराउन सकेमा क्याम्पसहरूमा घट्दै गएको विद्यार्थी सङ्ख्या र नयाँ पुस्तामा देखिएको शैक्षिक पलायनलाई रोक्न सकिन्छ । नीति र योजनामा प्रतिविम्बित हुने प्रेरणादायी वातावरणबाट शिक्षक–कर्मचारीहरूका छोराछोरीले त्रिविको महत्त्व र गौरव बुझ्ने वातावरणको विकास हुन्छ । शिक्षक र कर्मचारीहरूका छोराछोरीका लागि सहज र प्रोत्साहनपूर्ण कार्यले सबैको मनोबल बढाउनुका साथै विश्वविद्यालयप्रतिको विश्वास पनि मजबुत हुनेछ । उच्च शिक्षामा करिब ८० प्रतिशत विद्यार्थीहरूको भार थेगेको त्रिविजस्तो प्रमुख शैक्षिक संस्थाले आफ्ना प्राध्यापक र कर्मचारीहरूको छोराछोरीको शिक्षा प्रोत्साहन गर्न प्रभावकारी नीति र कार्यक्रम ल्याउन आवश्यक छ ।

शोध र अनुसन्धानलाई प्राथमिकता दिनु

पदाधिकारी, प्राध्यापक र कर्मचारीहरूको एकीकृत लक्ष्य निर्धारण गरेर साझा लक्ष्यलाई पूरा गर्न सामाजिक उत्तरदायित्वका गतिविधिहरूबाट सबैको सक्रिय सहभागिताले शैक्षिक केन्द्रहरू बलियो बन्छन् । विश्वविद्यालयहरूले सरकार र दाताहरूमा मात्र भर नपरी आफ्ना क्याम्पस वा कुनै पनि निकायहरूले योजना तथा बजेट निर्माण गर्दा अनिवार्य रूपमा ३ देखि ५ प्रतिशत रकम अनुसन्धानका लागि छुट्याउनैपर्ने व्यवस्थालाई लागू गर्नुपर्छ । नेपाली समाज, अर्थराजनीति, संस्कृति, सभ्यता, शिक्षा, विज्ञान–प्रविधिका बारेमा विद्यार्थीसँगको सहभागितामा अध्ययन, अनुसन्धान गराउनुपर्ने देखिन्छ ।

प्राध्यापकहरूलाई अनुसन्धानका लागि आवश्यक आर्थिक स्रोतहरू उपलब्ध गराएर समाजले उनीहरूको विज्ञताबाट फाइदा लिनु र नयाँनयाँ थिङ्कट्याङ्क तयार पार्नुपर्छ । उनीहरूका अनुसन्धानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्न र प्रकाशन गर्न मद्दत गर्न विश्वविद्यालयले सहयोगीको भूमिका खेल्नुपर्छ । प्राध्यापकहरूका लागि जिम्मेवारीसहितको उत्तरदायी भूमिकाबारे स्पष्ट हुनु आवश्यक छ । जिम्मेवारी र अधिकारको सन्तुलनले उनीहरूमा विश्वविद्यालयप्रति थप जिम्मेवार बनाउँछ । यसले पदाधिकारी र प्राध्यापकहरूमा भावनात्मक अपनत्व र समर्थन प्रदान गरेर प्राध्यापकहरूका व्यक्तिगत र व्यावसायिक चुनौतीहरूलाई सम्बोधन गर्न सहयोगी वातावरण सिर्जना गर्छ ।

विश्वविद्यालयमा काम गर्ने प्राध्यापकहरूको मनोबल बढाउन र उनीहरूको संस्थाप्रतिको अपनत्वलाई थप मजबुत बनाउन ढिला भइसकेको छ । अब त्रिविसहित यहाँका विश्वविद्यालय नेतृत्वले आ–आफ्नो पहललाई संस्थागत रूपमा कार्यान्वयन गर्न सकेमा देशमा सकारात्मक नतिजा प्राप्त हुनेछ । प्राध्यापक र कर्मचारीहरूको मनोबल बढाउन विश्वविद्यालयप्रतिको निष्ठा र सम्बन्धलाई बलियो बनाउन केही रणनीतिहरू तयार पारेर लागू गर्नु आवश्यक छ ।

शैक्षिक गुणस्तरमा सुधार र अन्तर्राष्ट्रियकरणको आवश्यकता

नेपालका विश्वविद्यालयसहित त्रिविलाई विश्वस्तरको प्रतिष्ठित शैक्षिक संस्था बनाउनका लागि पदाधिकारीहरूले लामो समयसम्म योजनाबद्ध तरिकाले काम गर्नुपर्ने हुन्छ । शैक्षिक गुणस्तर सुधार गरेर विश्वस्तरमा पुग्न अपनाउन सक्ने उपायहरू तल प्रस्तुत गरिएको छ । तालिकाअनुसारको भर्ना, समय सीमाभित्र परीक्षा सञ्चालन, नतिजा प्रकाशन र त्रुटिरहित द्रुत सेवा र सुशासनको माध्यमबाट विश्वविद्यालयहरूले नयाँ पुस्तामा आशाको दियो देखाउन आवश्यक छ । विश्वविद्यालयहरूमा उच्चस्तरको शैक्षिक र प्राज्ञिक उत्कृष्टता कायम राख्न योग्यहरूलाई संकाय सदस्यको रूपमा आकर्षित गर्न आवश्यक छ । यसका लागि संस्थाले प्रतिस्पर्धी तलब र अन्य प्रोत्साहनहरू प्रस्ताव गर्न सक्छः

क. गुणस्तरीय पाठ्यक्रम र अध्यापन विधि

विश्वविद्यालयले पाठ्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार नियमित रूपमा अद्यावधिक गरी आधुनिक प्रविधि, अनुसन्धान, सिकाइ र सीपलाई प्राथमिकतामा राख्नुपर्छ । देशको स्थानीय आवश्यकता, क्षेत्रीय विशिष्टता र वैश्विक मापदण्डअनुसार कक्षा कोठामा परम्परागत व्याख्यान पद्धतिलाई सुधारेर सक्रिय अध्यापन विधिलाई प्रयोगमा ल्याई सहभागीमूलक शैक्षिक प्रणाली लागू गर्नुपर्छ । विद्यार्थीहरूलाई आवश्यकता र रुचिअनुसार विषय छनोट गर्ने अवसर प्रदान गर्न पाठ्यक्रमलाई बहुआयामिक बनाउनु एक्काइसौँ शताब्दीको आवश्यकता हो ।

ख. अनुसन्धान र विकासमा लगानी

त्रिविसहित सबै उच्च शिक्षाका केन्द्रहरूले विभाग, स्कुल, क्याम्पसलाई अनुसन्धान केन्द्रको रूपमा विकास गराउन पाठ्यक्रम, पढाइसहितको विकासको नयाँ अवधारणा ल्याउनुपर्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुदानमार्फत अनुसन्धानका लागि पर्याप्त स्रोत जुटाएर प्राध्यापक र विद्यार्थीहरूको क्षमतालाई देशको हितमा प्रयोग गर्ने वातावरण बनाउनुपर्छ । प्राध्यापक र विद्यार्थीहरूको शोध अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशन गर्न जोड दिनुपर्छ । नेपालबाट अनुसन्धानमूलक लेखहरूको छपाइका लागि ठूलो धनराशि बाहिर गएका कारण यहाँ नै अन्तर्राष्ट्रियस्तरको जर्नलको प्रकाशनमा विश्वविद्यालयहरूले जोड दिनु आवश्यक छ ।

ग. फ्याकल्टी विकास कार्यक्रम

विश्वविद्यालयहरूले अनुसन्धानका कार्यमार्फत प्राध्यापकहरूको प्रशिक्षण र क्षमताको विकासमा जोड दिनुपर्छ । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि नियमित जिम्मेवारीसहितको प्रशिक्षण र शैक्षिक योग्यतालाई आधारभूत नियम बनाएर मात्र पदसोपानका काममा ध्यान दिनु आवश्यक छ । प्राध्यापन कार्यमा नेपालभित्र र बाहिरका विश्वविद्यालयहरूमा फ्याकल्टी एक्सचेन्ज कार्यसञ्चालन गरेमा शैक्षिक गुणस्तरमा सुधार ल्याउन सकिन्छ । उच्च गुणस्तरका पाठ्यक्रम निर्माण गर्ने र प्रभावकारी अध्यापन गर्ने प्राध्यापकहरूलाई पारदर्शिता र जवाफदेहितासहित सम्मान र आर्थिक प्रोत्साहन दिने कामलाई विश्वविद्यालयको जिम्मेवारीमा पार्नुपर्छ ।

विश्वविद्यालयहरूले अनुसन्धानका कार्यमार्फत प्राध्यापकहरूको प्रशिक्षण र क्षमताको विकासमा जोड दिनुपर्छ । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि नियमित जिम्मेवारीसहितको प्रशिक्षण र शैक्षिक योग्यतालाई आधारभूत नियम बनाएर मात्र पदसोपानका काममा ध्यान दिनु आवश्यक छ ।

विद्यार्थीहरूलाई आजको संसारमा सफलताका लागि आवश्यक सीपहरू विकास गर्न मद्दत गर्न कक्षा कोठामा सक्रिय सिकाइ, समस्या समाधान र आलोचनात्मक सोचलाई प्रोत्साहन दिनु आवश्यक छ । सिकाइमा विद्यार्थीको संलग्नता बढाउन र विद्यार्थी–केन्द्रित दृष्टिकोणलाई सहज बनाउन प्रविधि र अन्तक्र्रियात्मक उपकरणहरूको प्रयोग गर्नुपर्छ । यसले विश्वविद्यालय–प्राध्यापक–विद्यार्थीहरूको समग्र विकासमा ध्यान पुग्छ । प्राविधिक शिक्षा, इन्टर्नसिप र व्यावसायिक तालिमको व्यवस्थासहित विभिन्न विश्वविद्यालयहरूसँगको विद्यार्थी एक्सचेन्ज कार्यक्रमले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको पहुँचका कारण उनीहरूले रोजगारीका अवसरहरू आफैँ सिर्जना गर्ने क्षमतामा वृद्धि हुन्छ ।

घ. उद्योग र सामुदायसँग संलग्नता

विश्वविद्यालयहरूले इन्डस्ट्री–एकेडेमिया साझेदारीका कार्यक्रम सञ्चालन गर्न निजीक्षेत्र र उद्योगहरूसँग सहकार्य गरी अनुसन्धान र विद्यार्थीहरूलाई रोजगारमूलक अवसर प्रदान गर्न सक्छन् । इनक्युबेसन सेन्टरहरूमार्फत स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम तुरुन्त ल्याउन आवश्यक छ । समाजका विभिन्न सामुदायिक परियोजनाहरूमा विद्यार्थीहरूलाई संलग्न गराएर सामाजिक, आर्थिक र पर्यावरणीय समस्याहरू समाधान गर्न अनुसन्धान र अध्ययनलाई प्राथमिकता दिनुपर्छ ।

शैक्षिक संस्थाहरू, उद्योगहरू र सामुदायिक संस्थाहरूसँगको सहकार्यले शिक्षाको व्यावहारिक सान्दर्भिकता बढाउँछ । अनुसन्धान, इन्टर्नसिप, अनुभवात्मक शिक्षा र जागिर नियुक्तिका लागि साझेदारी स्थापना गरेर विद्यार्थीहरूले बहुमूल्य अनुभवहरू प्राप्त गर्न सक्छन्, जसले उनीहरूलाई भविष्यको करिअरमा सफलताका लागि तयार गर्नेछ । अन्य संस्थाहरूसँग सहकार्य गरेर विद्यार्थीहरूले सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक पक्षका साथै र सिकाउने र सिक्ने शैलीहरूका विभिन्न सन्दर्भहरूमा पनि एक्सपोजर प्राप्त गर्न सक्छन् । यी कार्यले समाजमा सकारात्मक सामाजिक प्रभाव स्थापना गर्न सहयोग पुग्छ ।

ङ. स्थायित्व र दीर्घकालीन योजना

एक्काइसौँ शताब्दीका विशविद्यालयहरूमा प्राध्यापन, अनुसन्धान र प्रशासनमा स्थायित्व र दीर्घकालीन योजनाको आवश्यकता पर्छ । माथिका कथ्यहरूलाई प्रभावकारी रूपमा लागू गर्नका लागि विश्वविद्यालयको नेतृत्व, प्राध्यापक, कर्मचारी, विद्यार्थी र सरकारबीचको सहकार्य आवश्यक देखिन्छ । गुणस्तर सुधारको निरन्तर प्रयास र दीर्घकालीन सोचले मात्र नेपालको उच्च शिक्षालाई विश्वस्तरको शिक्षाको गणस्तरको रूपमा उभ्याउन सम्भव छ । यसबाट हाम्रा विश्वविद्यालयहरूको गुणस्तरको मापदण्डका सूचकाङ्कहरूले अनुसन्धान कार्य, शैक्षिक प्रतिष्ठा र विद्यार्थी–प्राध्यापक अनुपातमा सुधार भए हाम्रो शिक्षा अन्तर्राष्ट्रिय रूपमा उपलब्धिपूर्ण हुनेछ ।

अन्त्यमा, आजको एक्काइसौँ शताब्दीमा मानिसलाई नैतिक मूल्यहरूमा जोड दिने बनाउनु आवश्यक छ । आजको संसारमा शिक्षाको महत्त्वपूर्ण पक्ष यही हो । प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूमा नैतिकता र सामाजिक उत्तरदायित्वको भावना बढाउन, सांस्कृतिक र सामाजिक संलग्नतालाई ध्यान दिन पाठ्यक्रमहरूको ढाँचा बदल्नुपर्छ ।

पाठ्यक्रममा सामुदायिक सेवा सफल–असफल र देशका लागि सहज–खर्चिला परियोजनाहरू समावेश गर्नाले विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्व र संलग्नताको भावना विकास गर्न मद्दत गर्छ । आजको डिजिटल युगमा प्रविधि नै शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि एक महत्त्वपूर्ण उपकरण हो । प्रविधि र डिजिटल सिकाइलाई अँगालेर शिक्षक र प्रशासकहरूले आफ्ना प्रक्रियाहरूलाई सुव्यवस्थित बनाउन र विद्यार्थीहरूलाई थप लचिलो र पहुँचयोग्य सिकाइ अनुभव प्रदान गर्न सक्छन् ।

तपाईको प्रतिक्रिया