पञ्चवर्षीय योजना निर्माण गर्दैै वीरेन्द्रनगर

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले पञ्चवर्षीय योजना निर्माण गर्न लागेको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरले पूर्वाधार विकासलाई एकीकृत गर्नेगरी योजना निर्माण गर्न लागेको हो । विकास साझेदार संघसंस्थासँग मिलेर पञ्चवर्षीय योजना निर्माण गर्न लागिएको नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । अब बन्ने योजनाका विषयमा विभिन्न क्षेत्रसँग छलफल गरिने उनको भनाइ छ ।

पूर्वाधार विकास, स्वास्थ्य, कृषि, शिक्षा र ऊर्जालाई प्रमुख प्राथमिकतामा राखिने छ । योजना निर्माणका लागि विभिन्न चरणमा विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाका लागि बढ्दो जनसंख्या चुनौतीका रूपमा रहेको छ । अव्यवस्थित रूपमा धमाधम पूर्वाधार निर्माण भइरहेका छन् । जसले गर्दा नगरपालिकालाई व्यवस्थित सहर निर्माण गर्न सकस देखिएको हो ।

उत्पन्न हुनसक्ने जोखिमलाई नियन्त्रण गर्नेगरी पञ्चवर्षीय योजना निर्माण गर्न लागिएको नगरप्रमुख ढकालको भनाइ छ । योजनावद्ध विकास निर्माणका लागि पञ्चवर्षीय योजनाको आवश्यकता अनुभूति भएको ढकालले बताइन् । उनले अब बन्ने योजनाले पूर्वाधार विकास, कृषि, स्वास्थ्य, शिक्षा र जलस्रोतको क्षेत्रमा कसरी काम गर्न सकिन्छ भनेर मार्गदर्शन गर्नेछ, त्यसैका लागि योजना निर्माण थालेको बताएका छन् ।’ पञ्चवर्षीय योजना निर्माणका लागि सुरुवाती चरणको छलफल भइरहेको उनको भनाइ छ ।

विभिन्न क्षेत्रमा अध्ययन गरेका विज्ञहरूबाट अध्ययन गराएर मात्र योजना निर्माण गरिनेछ । आउने वर्षसम्म पञ्चवर्षीय योजना निर्माण गरिसक्नेगरी छलफल अघि बढाइएको नगरपालिकाले जनाएको छ । द एशिया फाउन्डेसनले नगरपालिकाको पञ्चवर्षीय योजना निर्माणमा सहयोग गर्नेछ । उक्त संस्थाले योजना निर्माणका लागि सुरुवाती चरणका काम गरिरहेको नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश पौडेलले बताए । उनका अनुसार नगरपालिकाको पूर्वाधार विकासको मार्गचित्र प्रस्तुत गर्नेगरी योजना निर्माण गर्न लागिएको छ ।

नगरपालिकामा बढ्दो जनसंख्या

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । दिन प्रतिदिन जनसंख्या बढ्दो क्रममा छ । २०७८ सालको जनगणनाअनुसार नगरपालिकाको जनसंख्या एक लाख ५४ हजार भएको छ तर नगरपालिकाले सेवा भने करिब चार लाख जनसंख्यालाई दिनुपर्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइका क्षेत्रमा ठूलो जनसंख्यालाई सेवा दिनु चुनौतीको विषय हो । नेपाल सरकारबाट प्राप्त हुने अनुदान जनसंख्याको आधारमा हुन्छ । त्यसमा पनि अहिले ५० प्रतिशत बजेट कटौती भएर आएको छ । यस्ता अन्य चुनौतीमा विद्युत, वनको कुरा, सडक आफ्नो अधिकार क्षेत्रभित्र नपर्दा काम अघि बढाउन नसकेको अवस्था छ ।

वीरेन्द्रनगरमा धमाधम नयाँ घर निर्माण भइरहेका छन् । बढ्दो जनसंख्याको आधारमा नागरिकलाई आधारभूत आवश्यकता परिपूर्ति गर्नसमेत हम्मेहम्मे हुनेगरेको छ । अब बन्ने पूर्वाधार विकासलाई एकीकृत र दिगोपना दिनेगरी निर्माण गर्नका लागि नगरपालिकाले पञ्चवर्षीय योजना निर्माण गर्न लागेको छ ।

शिक्षाको दश वर्षे रणनीतिक योजना

यसैबीच नगरपालिकाले शिक्षाको दश वर्षे रणनीतिक योजना तयार गरेको छ । गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष, प्रतिस्पर्धी, श्रम र उत्पादनप्रति जिम्मेवार जनशक्ति विकास गर्ने लक्ष्यले रणनीति योजना निर्माण गरिएको हो । नगरप्रमुख ढकालले वीरेन्द्रनगरलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा विकास गर्न दश वर्षे रणनीतिक योजना लागू गरिएको बताइन् । ‘रणनीतिक योजनाले शिक्षाको क्षेत्रमा नगरपालिका कसरी अघि बढ्ने भन्ने बाटो देखाएको छ, यही योजनाअनुसार हाम्रा बजेट, कार्यक्रम, नीति, समन्वय एवम् सहकार्यका गतिविधि अघि बढाएको बताइन् । ‘सोहीबमोजिम शिक्षाका गतिविधि सञ्चालन भइरहेका छन् ।

‘म बनाउँछु मेरो नगरलाई शैक्षिक हब’ अभियानका साथ रणनीति योजना निर्माण गरिएको हो । ढकालले वीरेन्द्रनगर प्रदेश राजधानी भएकाले यहाँको शैक्षिक विकास नमुना हुनुपर्ने र रणनीतिक योजनाले त्यसको स्पष्ट मार्गचित्र बनाएको बताइन् ।

वीरेन्द्रनगरमा प्रारम्भिक बाल विकाससहित एक सय ५६ सामुदायिक र एक सय ७६ संस्थागत विद्यालय छन् । रणनीतिक योजनामा आर्थिक वर्ष २०८८÷०८९ सम्म प्रारम्भिक बाल विकास तथा आधारभूत तहमा विद्यार्थी भर्नादर शतप्रतिशत पु¥याउने, आधारभूत तहमा विद्यार्थी टिकाउदर ८५ प्रतिशत पु¥याउने, विद्यालयभन्दाबाहिर रहेका विद्यार्थीको संख्या शून्यमा झार्ने र साक्षरता दर बढाउने लक्ष्य राखिएको छ ।

नगरपालिकाले हाल कूल बजेटको दश प्रतिशत रहेको शिक्षा क्षेत्रको बजेट आगामी दश वर्षसम्म दोब्बर पु¥याइ विद्यालय शिक्षामा लगानी बढाउने, भौतिक पूर्वाधार निर्माणमा जोड दिने, शैक्षिक गुणस्तरमा सुधार गर्ने लक्ष्य लिएको छ । रणनीतिक योजनामा प्राविधिक तथा व्यावसायिक शिक्षामा विद्यार्थीको सहभागिता वृद्धि, सबै विद्यालयमा विद्युतीय पहुँच विस्तार एवम् इन्टरनेट सेवा पु¥याउने उल्लेख गरिएको छ ।

नगरपालिकामा आवश्यकता अनुसारको पाठ्य सामग्री र पाठ्यक्रमको विकास, शिक्षक व्यवस्थापन, सामुदायिक विद्यालयको सबलीकरण, अनौपचारिक शिक्षा, दूरशिक्षा तथा खुल्ला सिकाइ, गुणस्तरीय सार्वजनिक शिक्षा, शिक्षामा सूचना प्रविधि र समावेशी शिक्षालाई जोड दिइएको छ । विद्यालयमै आधारभूत स्वास्थ्य सेवा, दिवा खाजा तथा पोषण कार्यक्रम सञ्चालन गर्ने योजनामा समावेश गरिएको छ । नगरपालिकाले नगर शिक्षा ऐन २०७४, आधारभूत तथा माध्यमिक शिक्षा नीति २०७७, स्थानीय पाठ्यक्रम (हामी र हाम्रो वीरेन्द्रनगर) निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको छ ।

तपाईको प्रतिक्रिया