
सुर्खेत । कर्णाली प्रदेश सभा बैठक सोमबार दिउँसो बस्दै छ । संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख यज्ञराज जोशीले दोस्रो कार्यकालको पाँचौँ अधिवेशन सोमबार दिउँसो १ बजेका लागि आह्वान गरेका छन् । सोही अनुसार बैठक बस्ने भएसँगै दलहरूले आ–आफ्नो तयारी गरेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसले आइतबार संसदीय दलको बैठक बसेर समसामयिक विषयमा छलफल गरेको छ । संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही सरकारका कामकारबाहीबारे खासै सन्तुष्ट छैनन् ।
शनिबार कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बोलाएर प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका थिए । आइतबारको बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरेको एक सदस्यले बताए ।
यस्तै सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले संसदीय दलको बैठक अहिले बसिरहेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाइले मुख्यमन्त्री समेत रहेका दल नेता यामलाल कँडेलको अध्यक्षतामा बैठक बसिरहेको र उक्त बैठकमा एमाले कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी, प्रदेश अध्यक्ष गुलावजंग शाहपनि उपस्थित रहेको बताए ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले दलको बैठक नबसालेपछि सरकारका गलत कामकारबाहीबारे खरो रूपमा उत्रिने तयारी गरेको छ । माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार सरकारले बहुवर्षीय आयोजनाको विषयमा ठुलो कमजोरी गरेको लगायतका विषयमा रहेर प्रतिपक्षले खरो रूपमा प्रश्न उठाउने छ ।
आफू नेतृत्वमा रहेका बेला माओवादीले ल्याएका कार्यक्रमहरू वर्तमान सरकारले बेवास्ता गरेको, सरकार उल्टो बाटोमा हिँडेको निष्कर्ष प्रतिपक्षले निकालेको छ । अर्कोतर्फ प्रदेश सभा कानुन निर्माणका सन्दर्भमा कमजोर रहेको, संसदीय समितिहरू नेतृत्वविहीन अवस्थामा रहेको लगायतका विषयमा आजको संसदमा छलफल हुने देखिन्छ ।
हिउँदे अधिवेशनको पहिलो बैठक उपसभामुख यशोदा न्यौपानेले सञ्चालन गर्ने बताइएको छ । सभामुख नन्दा गुरुङकी सास आमाको शनिबार निधन भएकाले उनको उपस्थिति नरहने अवस्थामा बैठक उपसभामुखले सञ्चालन गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभाका सूचना अधिकारी राजेन्द्र पौडेलले कुनै कारण सभामुखको उपस्थिति नरहने अवस्थामा उपसभामुखले बैठक सञ्चालन गर्ने विषय संशोधित प्रदेश सभा नियमावली ०८१मा प्रस्ट रूपमा राखिएको बताए । उनका अनुसार बैठकको विषयमा ११ बजे कार्य व्यवस्था समितिको बैठक बस्दै छ भने अहिलेसम्म दलका नेताहरूले धारणा राख्ने कार्यतालिका तय भएको छ ।

नेपालीरैबार । २०८१ माघ ७, सोमबार