
काठमाडौँ । दलित महिला संघ (फेडो)ले दलित समुदायबाट पत्रकारिता गर्ने पत्रकारलाई सम्मान गरेको छ ।
फेडोद्वारा यहाँ आज आयोजित कार्यक्रममा फेडोका संस्थापक अध्यक्ष दुर्गा सोव र महासचिव रेणु सिजापतिले नेपाल पत्रकार महासंघमा नवनिर्वाचित दलित समुदायका पत्रकारलाई सम्मान गरे ।
फेडोले महासंघका उपाध्यक्ष उमित बागचन्द, सचिव प्रकाश धौलाकोटी, केन्द्रीय सदस्य रीता बुढाथोकी, पत्रकार महासंघ प्रतिष्ठान प्रदेशका सचिव रमेश टमाटा, सोही प्रतिष्ठानका कार्यसमिति सदस्य ईश्वरी विश्वकर्मा र महासंघ भक्तपुर जिल्लाका कार्यसमिति सदस्य अन्जितसिंह विकलाई सम्मान गरेको छ ।
सोही अवसरमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का उपाध्यक्ष सोवले विषयवस्तु र सहभागिताका हिसाबले सरकारी र निजी क्षेत्रका आमसञ्चारमाध्यम समावेशी बन्नुपर्नेमा जोड दिए । महासंघका नवनिर्वाचित उपाध्यक्ष बागचन्दले आफू महासंघमा रहुन्जेल दलित समुदायका पत्रकारको हकहितसँगै समावेशिताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। सञ्चारमाध्यममा दलित समुदायको विषयवस्तुसँगै भौतिक सहभागिताका निम्ति काम गर्ने उनको भनाइ छ ।
महासचिव सिजापतिले नेपालको संविधानमै दलित समुदायको समानुपातिक सहभागिताको व्यवस्था गरेको सन्दर्भ उल्लेख गर्दै राज्यको चौथो अंग सञ्चारमाध्यम सबै हिसाबले समावेशी बन्नुपर्ने धारणा राखिन्। नेपालमा जातीय र लैंगिक भेदभाव उन्मूलन गर्ने जोसका साथ दलित महिलाको समूहद्वारा फेडो स्थापना भएको थियो ।

नेपालीरैबार । २०८१ माघ ७, सोमबार