
भूकम्पपछि रुकुम पश्चिम र जाजरकोटमा विभिन्न गतिविधिहरु सञ्चालन गरेको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) ले हरित प्रविधिमा आधारित दिगो विकास र सचेतनाको क्षेत्रमा महत्वपूर्ण कार्यहरु सम्पन्न गरेको छ । बेलायत सरकारको सहयोगमा आईओएमले सञ्चालन गरेको एकिकृत भूकम्प पुनर्लाभ कार्ययोजना अन्तर्गत विभिन्न गतिविधिहरु छोटो समयमा पनि प्रभावकारी रहेको पाईएको छ ।
आइओएमले पछिल्लो नौ महिनामा गरेका कामहरुको बारेमा मंगलबार रुकुम पश्चिमको मुसिकोटमा जिल्ला स्तरिय सिकाई कार्यशाला आयोजना गरेर सार्वजिनक गरेको छ । यस क्रममा स्थानीय तह, सरोकारवाला निकाय, लाभान्वितहरुले आईओएमका गतिविधिहरुको समिक्षा गर्दै सकारात्मक चर्चा गरेका हुन् ।
कार्यक्रममा आइओएमका नेपाल प्रमुख हेलेन फोर्सले छोटो समयमा स्थानीय सरकारसँगको समन्वयमा भूकम्प पुनर्लाभको कार्य गरेको र दिगो पुनर्निर्माणको लागि सफल कार्य गरेको बताएका छन् । उनले हरित प्रविधिमैत्री र दिगो विकास लक्ष्यमा आधारित भएर गरेका कामहरुले सकारात्मक प्रतिफल दिएको उल्लेख समेत गरेका छन् । आईओएमले सामाजिक प्राविधिक सहयोग, आवास सहायता र पुनस्थापना तथा पुनर्निर्माणका लागि काम गरेको उनले जानकारी गराएका छन् ।
परियोजना अन्तर्गत भएका गतिविधिहरुको जानकारी दिनुहुँदै आइओएमका सामाजिक परिचालन सहायक कमल महतले २६ जना भूकम्प प्रभावितहरुलाई नमूना घर निर्माण गरेर हस्तान्तरण गरिएको बताउनुभयो । स्थानीय तहको सिफारिसमा अतिविपन्न, अपांगता भएका, दलित तथा सीमान्तकृत समुदायका व्यक्तिहरुको लागि नमूना घर निर्माण गरिएको हो ।
उनले सिएसईबी प्रविधिमा आधारित ईट्टा व्यवसाय सञ्चालनका लागि २८ व्यवसायीलाई सहयोग गरिएको बताएका छन् । सामाजिक परिचालन सहायक महतले सुरक्षिक आवास सचेतना, स्थानीय सरकारलाई नीति तथा योजना निर्माणमा सहयोग, सामाजिक सचेतना अभियान, प्रभावितहरुलाई आवास हस्तान्तरण, स्थानीय सरकारको सशक्तिकरण, स्थानीय जनशक्तिको सीप तथा क्षमता विकास लगायतका क्षेत्रमा गरेका मुख्य कामहरुको बारेमा जानकारी गराए ।
उनले परियोजना अन्तर्गत डकर्मी तालिम, यौन शोषण तथा दुव्र्यवहार विरुद्ध अभिमुखिकरण, सडक नाटक प्रदर्शनी, स्थानीय तहका प्राविधिकहरुलाई तालिम, मोबाइल भ्यान तथा रेडियो र टेलिभिजनबाट सचेतना, स्थानीय तहलाई विपत् व्यवस्थापनका सामाग्री लगायतका काममा सहयोग गरेको बताएका छन् ।
कार्यक्रममा स्थानीय तहका प्रमुख र लाभान्वित समुदायका प्रतिनिधिहरुले आईओएमको सहयोग महत्वपूर्ण रहेको जनाएका छन् । छोटो समयमै उल्लेखनिय काम गरेको आईओएमले आगामी दिनमा पनि भूकम्प प्रभावित क्षेत्रमा काम गर्ने आशा उनीहरुको व्यक्त गरेका छन् ।
जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा रुकुम पश्चिमका ६ वटा पालिकाका प्रमुख, उप प्रमुख तथा प्रतिनिधि, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारी, भूकम्प प्रभावित लाभग्राही, जिल्लास्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकारहरूको उपस्थिति रहेको थियो ।
आइओएमका इन्जिनियर विकास न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा आइओएमका नेपाल प्रमुख हेलेन फोर्स, आवासिय संयोजक चेरी अबेला लगायतका आईओएमका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नेपालीरैबार । २०८१ माघ ९, बुधबार