कर्णालीमा कुष्ठरोगका बिरामीको सङ्ख्यामा बृद्धि

                                                         तस्विर: ललित बसेल

सुर्खेत । कर्णालीमा कुष्ठरोगका नयाँ बिरामीको सङ्ख्यामा बृद्धी भएको छ । सन् २०३० मा नेपाललाई कुष्ठरोगमुक्त नेपाल बनाउने लक्ष्यमा चुनौती देखिएको छ । पछिल्लो पाँच वर्षमा कुष्ठरोगका नयाँ बिरामी पत्ता लाग्ने दर बढ्दै गएपछि यो चुनौती देखिएको हो । आर्थिक वर्ष २०७६÷७७ देखि २०८०÷८१ सम्म कुष्ठरोगका नयाँ बिरामी बढिरहेका छन् ।

७२ औँ विश्व कुष्ठरोग दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले आव २०७६÷७७ मा कुष्ठरोगका ५५ जना नयाँ बिरामी पत्ता लागेको जनाएको छ । त्यसपछि आव २०७७÷७८ मा ६७ जना, आव २०७८÷७९ मा ६८ जना, २०७९÷८० मा ७३ जना र आव २०८०÷८१ मा ८० जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् । निर्देशनालयका क्षयकुष्ठ अधिकृत पदम केसीले बर्सेनि कुष्ठरोगका नयाँ बिरामी पत्ता लाग्ने सङ्ख्या बढ्दै गएपछि सन् २०३० मा नेपाललाई कुष्ठरोगमुक्त बनाउने सरकारको लक्ष्यमा चुनौती थपिएको बताएका छन् ।

यसै गरी उपचारमा रहेका कुष्ठरोगका बिरामीको सङ्ख्या पनि बढेको छ । आव २०७६÷७७ मा ६८ जना उपचाररत रहेकोमा आव २०७७÷७८ मा ७७ जना, आव २०७८÷७९ मा ८४ जना, आव २०७९÷८० मा ९२ जना र आव २०८०÷८१ मा १०२ जना कुष्ठरोगका बिरामी उपचारमा रहेका छन् । यस्तै उपचार पूरा गरी निको भएका बिरामीको सङ्ख्या पनि बढेको छ । आव २०७६÷७७ मा ७१ जना, आव २०७७÷७८ मा ६४ जना, आव २०७८÷७९ मा ६८ जना, आव २०७९÷८० मा ६९ जना र आव २०८१÷८१ मा ७६ जना कुष्ठरोगका बिरामी उपचार पूरा गरी निको भई गएको निर्देशनालयका क्षयकुष्ठ अधिकृत केसीले बताए ।

कर्णालीमा सबैभन्दा धेरै कुष्ठरोगका नयाँ बिरामी सुर्खेतमा पत्ता लागेको छ । सुर्खेतमा २२ जना, सल्यान र जाजरकोटमा समान नौ जना, कालीकोट र दैलेखमा छ÷छ जना, रुकुम पश्चिममा पाँच जना, जुम्ला र मुगुमा पाँच÷पाँच जना, डोल्पामा दुई जना नयाँ बिरामी फेला परेका छन् । डोल्पामा दुई जना नयाँ बिरामी फेला परेका छन् । हुम्लामा भने नयाँ बिरामी फेला नपरेको जनाइएको छ । उहाँले कुष्ठरोगप्रति समाजमा अझै पनि नकारात्मक धारणा हाबी भएकाले जनचेतनाका माध्यमबाट भेदभाव र लाञ्छना हटाउन जरुरी रहेको बताए ।

अबको पाँच वर्षभित्र नेपाललाई कुष्ठरोगमुक्त बनाउने अभियान चुनौतीपूर्ण रहेको हुँदा सबैको सहकार्यले सम्भव बनाउनुपर्ने उनको भनाइ छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले कुष्ठरोगमुक्त गर्ने अभियानमा हातेमालो गर्न सबैसँग आह्वान गरे । साथै कुष्ठरोगी र उनीहरूका परिवारलाई गर्ने भेदभाव हटाउन सचेतनाको कामलाई पनि अगाडि बढाइएको उनले जनाए ।

सुर्खेतमा साइनिङ अस्पताल आइएनएफ नेपाल सुर्खेतमा कुष्ठरोगका बिरामीको उपचार गर्न पाँच शøयाको अस्पताल सञ्चालनमा छ । अहिले उक्त अस्पतालमा छ जना कुष्ठरोगका बिरामी उपचाररत छन् । साइनिङ अस्पताल आइएनएफ नेपाल सुर्खेतका कार्यक्रम संयोजक ललितबहादुर सारूले कुष्ठरोगमुक्त गर्ने अभियानको अवधि कम भएको तर नयाँ बिरामी फेला पर्ने क्रम बढिरहेकोमा चिन्ता व्यक्त गरेका छन् । :ललित बसेल

तपाईको प्रतिक्रिया