
रुकुम पश्चिम । रुकुम पश्चिमका दश हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने विरुद्धको एच.पि. भी. खोप लगाइने भएको छ । यहि माघ २२ गते देखि सुरु हुने एच. पि. भी. खोप अभियान अन्तर्गत जिल्लाका दश हजार १९३ छात्रालाई खोप लगाइने भएको हो ।
स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीले विद्यालयमा गएर अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई एच. पि. भी. खोप लगाइने बताएका छन् ।
जसअन्तर्गत कक्षा ६ देखि १० सम्मका नौ हजार ९६० छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका २३३ किशोरीलाई खोप लगाइने छ ।
जिल्लाको मुसिकोट नगरपालिकाका २ हजार १८० जना, आठबिसकोट नगरपालिकाका २ हजार १७९ जना र चौरजहारी नगरपालिकाका १ हजार ५३१ छात्रा तथा किशोरीलाई एच. पि. भी. खोप दिइने भएको छ ।
यसैगरी सानीभेरी गाउँपालिकाका १ हजार ५५९, त्रिवेणी गाउँपालिकाका १ हजार २७९ र बाँफिकोट गाउँपालिकाका १ हजार २३२ छात्रा तथा किशोरीलाई उक्त खोप लगाउने योजना रहेको ओलीले जानकारी दिए । एच. पि. भी. खोप अभियानका लागि २०७ वटा विद्यालयमा खोप केन्द्र सञ्चालन गरिने भएको छ । अभियानलाई सफल पार्न जिल्लाभर २१२ जना स्वास्थ्यकर्मी र ४४४ जना स्वयंसेवक परिचालन हुने भएका छन् ।
यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने एच. पि. भी. खोप अभियानमा छुटेकालाई अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट समेत खोप दिइने स्वास्थ्य सेवा कार्यालयले बताएको छ ।
स्वास्थ्य सेवा कार्यालय प्रमुख महेश चौलागाईले राष्टिय खोप कार्यक्रम अन्तर्गत्त नै जिल्लामा यो अभियान सञ्चालन गर्न थालेको बताए । उनले पाठेघरको मुखको क्यान्सर खोपबाट रोकथाम गर्न सकिने उल्लेख गरे। सुरुकै अवस्थामा यो रोगको पहिचान भएमा उपचार गरेर निको हुने उनको भनाई छ । एच. पि. भी. खोप निशुल्क, सुरक्षित हुनका साथै जीवन रक्षा गर्ने समेत उनले बताए ।

नेपालीरैबार । २०८१ माघ १४, सोमबार