नेपाली सेनाले कर्णाली प्रदेशमा युनिटी रन हाफ म्याराथन आयोजना गर्दै, यस्तो छ,पुरस्कार राशी

सुर्खेत । नेपाली सेनाले कर्णालीको पहिचान बनेको लामो दूरीको दौड प्रतियोगिताको विकासका लागि युनिटी रन आयोजना गर्ने भएको छ । सेनाले हरेक वर्ष आयोजना गर्दै आएको युनिटी रन यो वर्ष ३ फागुनमा आयोजना गर्न जनाएको छ । निमारे ब्यारेकमा मंगलबार पत्रकार सम्मेलन गरेर सो विषयमा जानकारी दिएको हो ।

महाशिवरात्री तथा सेना दिवसको अवसरमा नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटर निमारे ब्यारेक सुर्खेतको आयोजनामा हाफ म्याराथन प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । विभिन्न पाँच विधाहरूमध्ये २१, १० र पाँच किलोमिटर दौड प्रतियोगिता सञ्चालन गरिने सेनाले जनाएको छ ।

दौडतर्फ प्रथम हुनेले ३५ हजार, दोस्रोले २५ हजार र तेस्रो हुने १५ हजार पुरस्कार पाउनेछन् । १० किलोमिटर दौडमा प्रथम, दोस्रो तथा तेस्रो हुनेले क्रमशः २०, १० र पाँच हजार पुरस्कार पाउनेछन् । यस्तै, पाँच किलामिटर दौडमा प्रथम हुनेले १० हजार, पाँच हजार र तेस्रो हुनेले तीन हजार पुरस्कार पाउनेछन् ।

तीनवटै विधाको प्रतियोगितामा महिला र पुरुष दुवै सहभागी हुन पाउने र दुवैले समान पुरस्कार दिइने उत्तर पश्चिम पृतना हेडक्वाटर निमारे ब्यारेक सुर्खेतका सहायक पृतनापति दिनेश रजौरेले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन नेपाली सेनाका १० वटै जिल्लामा रहेका युनिटमा पुगेर निःशुल्क रुपमा फारम भर्न सकिनेछ । फारम भर्ने अन्तिम मिति यहीँ माघ ३० गतेसम्म रहेको छ । प्रतियोगिताका लागि कर्णालीका १० वटै जिल्लाका जुनसुकै सेनाका युनिटमा फर्म भर्ने व्यवस्था गरिए पनि प्रतियोगितामा सहभागी हुन भने वीरेन्द्रनगरस्थित विमानस्थलको पूर्वतर्फ रहेको श्री नं २ राजदल गण, एयरपोर्टमा फागुन ३ गते उपस्थित हुनुपर्ने सहायक पृतनापति रजौरेले जानकारी दिए ।

२१ किलोमिटर दौडका लागि राजदल गणबाट सुरु हुनेछ । यसका लागि रुट पिपिरा, देउती बज्यै मन्दिर, भाइरल रोड, मंगलगढी, बाँगेशीमल, ढाडेखाली स्कुलहुँदै रातो पुल, कालुञ्चोक, नेवारे स्कुल भएर राजदल गण तय गरिएको छ ।

१० किलोमिटर दौडतर्फको रुट राज दल गणबाटै सुरु गरेर पिपिरा चोक, मंगलगढी, ढोडेखाली पुल, प्रदेश अस्पताल, रातो पुल, कालुञ्चोक, नेवारे स्कुल भएर राजदल गण राखिएको छ । पाँच किलोमिटर दौडको रुट भने राजदलबाट सुरु भएर पिपिरा चोक, मंगलगढी, गणेश चाक, आँखा अस्पताल, कालुञ्चोक, नेवारे स्कुल भएर राजदल गणमै पुगेर सकिनेछ ।

पाँच किलोमिटर अर्को दौडमा प्रमुख अथिति र अन्य आमन्त्रित सहभागी गराइने सेनाले जनाएको छ । २१ र १० किलोमिटर दौडमा प्रतियोगितामा जुनसुकै उमेर समूहहरु महिला र पुरूष र पाँच किलोमिटर दौडमा छात्रछात्रा सहभागी हुन पाउनेछन् । सेनाले २०७८ सालदेखि हरेक वर्ष सेना दिवसको अवसरमा युनिटी रन प्रतियोगिताको आयोजना गर्दै आएको छ । राष्ट्रिय खेलकुद क्षेत्रमा योगदान दिन क्षमतावान खेलाडीको पहिचान र विकासका लागि प्रतियोगिता गरिएको सेनाले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया