
सुर्खेत । नेकपा एमाले सुर्खेतले जनप्रतिनिधिले गरेका सकारात्मक कामलाई जनतासामु लैजाने भएको छ । जिल्ला कमिटी सुर्खेतको चौथो पूर्ण बैठकले पार्टीको नेतृत्व र सहभागिताका तीनै तहका सरकार र जनप्रतिनिधिले गरेका सकारात्मक र नमुनायोग्य कामलाई जनतामाझ लैजाने निर्णय गरेको हो ।
पछिल्लो समय राजनीतिक दलहरूप्रति बढ्दै गएको वितृष्णाले व्यवस्थामाथि नै प्रश्न उठेको उल्लेख गर्दै एमाले सुर्खेतका अध्यक्ष कुलमणी देवकोटाले सार्वजनिक महत्त्व र नागरिकसँग जोडिएका विषयलाई प्राथमिकताका साथ उठान गर्ने निर्णय गरेको बताए ।
कम्तीमा एकतिहाइ युवालाई आधारभूत तहका पार्टी कमिटीमा समावेश गर्दै पार्टीमा सक्षम युवा नेतृत्व विकासको आधारशिला तयार गर्ने गरी अघि बढ्न लागेको अध्यक्ष देवकोटाले बताए । जनतासँग प्रत्यक्ष संवाद गर्नेगरी आधारभूत तहका पार्टी कमिटी तथा सदस्यहरू जनताको घर(घरमा पुगेर मिथ्या सूचना र भ्रमहरूको चिरफार गरी जनतामा सकारात्मक सन्देश प्रवाह गर्न अभियान थालेको उनको दाबी छ ।
विकास निर्माण तथा जनसरोकारका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै सशक्त रूपमा आवाज उठाएर जनतामा आएको वितृष्णा चिर्ने एमालेको दाबी छ । यस्तै, २०८२ सम्म जिल्लाभर सदस्यता नवीकरण तथा बिस्तार गरी ६ प्रतिशत पुर्याउने एमालेको दाबी छ ।

नेपालीरैबार । २०८१ माघ १६, बुधबार