एचपीभी खोप कर्णालीका १ लाख २० हजार बढी किशोरीलाई लगाइदैँ

सुर्खेत । एच.पी.भी. खोप अभियान २०८१ अन्तर्गत कर्णाली प्रदेशमा १ लाख १२ हजार ५१० किशोरीहरूलाई लक्षित गरिएको छ । यसमध्ये २१ हजार ६५७ जना नियमित खोप अन्तर्गत ९८ हजार ८५३ जना अभियान अन्तर्गत लक्षित छन् । सबैभन्दा बढी किशोरी लक्षित सुर्खेतमा २८ हजार ३४० जनाले खोप लगाउने अनुमान गरिएको छ ।

देशभर एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान २०८१ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुँदैछ । अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू तथा १० देखि १४ वर्ष उमेरका विद्यालय नजाने किशोरीहरूलाई लक्षित गरिएको छ । स्थानीय तहअनुसार खोप दिने मिति फरक हुन सक्ने भएकाले अभिभावक र किशोरीहरूलाई विद्यालय वा स्वास्थ्यकर्मीमार्फत जानकारी लिन आग्रह गरिएको छ ।

नेपाल सरकारको यो खोप अभियानले किशोरीहरूलाई एच.पी.भी. संक्रमणबाट सुरक्षित राख्दै पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउने विश्वास गरिएको छ । विशेष गरी दुर्गम क्षेत्रका किशोरीहरूले खोप पाउने सुनिश्चित गर्न कर्णाली प्रदेशमा स्थानीय तहहरू र स्वास्थ्य संस्थाहरूसँग समन्वय गरिएको छ ।

तपाईको प्रतिक्रिया