मुगुको स्वास्थ्य सेवा विशेषज्ञ चिकित्सक बाट सुरु भएपछि सेवा प्रभावकारी

मुगु । मुगुमा स्वास्थ्य सेवा व्यवस्थापनमा सुधार हुँदा सेवा प्रभावकारी भएको छ । जिल्ला अस्पताल मुगुमा विशेषज्ञ चिकित्सकहरूको उपलब्धता, एक्स–रे र भिडियो एक्स–रे सेवा, आधुनिक स्वास्थ्य उपकरणहरूको उपलब्धता, अस्पताल परिसरमा सुलभ औषधि पसलको व्यवस्थापन लगायतका कारण यहाँका बिरामी र उनका परिवारजनले सहज र प्रभावकारी सेवा पाउन थालेका हुन् ।

अस्पतालका स्वास्थ्य सेवा व्यवस्थापक डा। निर्मल नगरकोटीका अनुसार एमडी जीपी सेवा सञ्चालनमा आएसँगै गर्भवती, सुत्केरी, एपेण्डिसाइटिस, हर्निया र हाईड्रोसिलका शल्यक्रियाहरू पनि जिल्लामै हुने गरेका छन् ।

अस्पतालमा रोगसम्बन्धी सेवामा उल्लेखनीय सुधार आएपछि विशेष गरी मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । डा। नगरकोटीले अहिले अस्पतालमा दुई जना विशेषज्ञ चिकित्सकसहित १० जना चिकित्सक कार्यरत रहेको बताएका छन् ।

स्थानीय बासिन्दाहरूले दुर्गम जिल्लामा पनि विशेषज्ञ सेवा विस्तार हुनु ठूलो उपलब्धि भएको बताएका छन् । अस्पतालमा आवश्यक सबै कुराको व्यवस्थापन राम्रोसँग हुँदा स्वास्थ्य सेवा दिनप्रतिदिन प्रभावकारी बन्दै गएको स्थानीयको भनाई छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्रबहादुर मल्लका अनुसार कोरिया सरकारको सहयोगमा निर्मित नयाँ, सफा र व्यवस्थित अस्पताल भवनका कारण पनि बिरामीहरुलाई गुणस्तरीय सेवा प्रवाहमा सहजता भएको हो । अध्यक्ष मल्लले केही महिना अघि अस्पताल भित्रै औषधी पसलको पनि व्यवस्थापन गरिएको बताए ।

हालै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट एक जना एमडी जीपी चिकित्सक डा। अभिषेक मिश्र खटिनुभएको छ । यस अघि गत जेठ महिनाबाट बालरोग विशेषज्ञ डा। निर्मल नगरकोटी अस्पतालमा कार्यरत छन् ।

सामान्य प्रकारका बिरामीहरू पनि अब थप उपचार गर्न जिल्ला बाहिर जानु नपरेको अध्यक्ष मल्लले उल्लेख गरेका छन् । उनका अनुसारकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको समन्वयमा अस्पतालमा विशेष चिकित्सकहरूको व्यवस्थामा भएको हो । थप विशेषज्ञ सेवा उपलब्ध भएपछि अस्पतालमा गर्भवती महिलाहरू, एपेण्डिसाइटिस, हर्निया, हाईड्रोसिल लगायत जटिल रोगहरूको उपचार अब जिल्लामै सम्भव भएको छ ।

तपाईको प्रतिक्रिया