सिफारिस नपाएको भन्दै वडामा तालाबन्दी

सल्यान । मुहान दर्ताको सिफारिस नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन्। सल्यान जिल्लाको बागचौर नगरपालिका–९ का स्थानीय बासिन्दाले सिफारिस नदिएकाे भन्दै तालाबन्दी गरेका हुन् ।

वडाका ९४ घरपरिवारले उपभोग गर्दै आएको पानीको मुहान वडा नं ८ लाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको तर उपभोक्ता समितिलाई सिफारिस नदिएको स्थानीयले आरोप लगाएका छन्। उनीहरूले वडाध्यक्ष कार्यालयमा नआएको र कुनै पनि सदस्यलाई कार्यवाहक जिम्मेवारी नदिएको भन्दै विरोध जनाएका छन्।

९४ घरपरिवारको तर्फबाट जारी विज्ञप्तिमा तालाबन्दी गर्न बाध्य भएको उल्लेख गर्दै यसबाट पर्न गएको असुविधाका लागि क्षमायाचनासमेत गरिएको छ। उनिहरूको कदमलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले ऐक्यबद्धता जनाएका छन । सबै राजनीतिक दलका प्रतिनिधिहरूले संयुक्तरूपमा हस्ताक्षर गरि वडाध्यक्षले अटेरी गरेर कार्यालय नगएको जनाएका छन ।

वडाध्यक्ष यज्ञ बहादुर डाँगीले भने आफूले सिफारिस नदिएको भन्ने आरोप गलत भएको बताएका छन्। उनका अनुसार माग गरिएको स्थानमा वास्तविक मुहान नभएको र खोला नै मुहानको रूपमा दर्ता गर्नुपर्ने भएकाले सिफारिस दिन असहज भएको हो।

डाँगी भन्छन् नगारे खोला प्राकृतिक रूपमा खोला हो, मुहान होइन। अघिल्लो सरकारले लुगाधुने खोलालाई वडा नं ८ को लागि मुहान दर्ता गर्न सिफारिस गरेको थियो। तर, अहिले चौखेढुंगामा मुहान दर्ताको माग भइरहेको छ। सिफारिस गर्दा सबै विवरण खुलाएर दिनुपर्ने हुन्छ, तर उहाँहरूले त्यसलाई स्वीकार्न नचाहेको बताएका छन् ।

उनका अनुसार आफूले मुहान दर्ता भएको स्थानमा पुनः दर्ता नगर्न वडा नं ८ को नगरपालिकामा निवेदन दिएको छ। वडाध्यक्ष डाँगीले केही स्थानीयले कानुनी प्रक्रिया नअपनाई अराजकताका साथ हातपात गर्ने प्रयास गरेको आरोपसमेत लगाए। उनले स्थानीय प्रविण वलीले हातपात समेत गरेको बताए । उता प्रविण वलीले भने वडाध्यक्ष सम्पर्क विहिन भएको र आफुहरूलाई कुनै सिफारिस नदिएको बताएका छन ।

तपाईको प्रतिक्रिया