भत्ता र खर्चमा प्रमुख प्रशासकिय अधिकृत डाँगीको मनोमानी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीको दैनिक भत्ता तथा भ्रमण खर्च अस्वभाविक देखिएको छ । उपमहानगरपालिकाको लेखा समितिले दिएको जानकारी अनुसार प्रमुख प्रशासकिय अधिकृत डाँगीले एकै दिन ९७ हजार रुपैँयासम्म दैनिक भत्ता तथा भ्रमण खर्च लिएको देखिएको हो ।

यस्तै डाँगीले एकै दिन दुई वटा दैनिक भत्ता र भ्रमण खर्च लिएको प्रतिवेदनले औँल्याएको छ । भ्रमण खर्च नियमावली २०६४ अनुसार प्रमुख प्रशासकिय अधिकृत डाँगीले लिएको भत्ता र खर्च नियमावली विपरित रहेको छ ।

नियमावलीको बुँदा नम्बर १० मा उल्लेख भएको दैनिक भत्ता तथा भुक्तानी खर्चविधि अनुसार एक पटकमा हवाई वा बस भाडा खर्च र दैनिक भत्ता बढीमा २ हजार रुपैँयासम्म पाउने उल्लेख छ । बस भाडाको कुरा नगरौँ । हवाई भाडा नै लिएपनि दैनिक बढीमा २० हजार हो । अझ स्पष्टरुपमा सामान्यतया दाङ –काठ्माण्डौको हवाई भाडा बढीमा १२ हजारसम्म छ ।

तर प्रमुख प्रशासकिय अधिकृत डाँगीले २०८० चैत १९ गते एकैदिन भौचर नम्बर १८७१ बाट ९७ हजार लिएको लेखा समितिले जनाएको छ । प्रमुख प्रशासकिय अधिकृत डाँगी तुलसीपुर उपमहानगरपालिकामा आएको १ वर्ष पनि पुगेको छैन् ।

लेखा समितिका अनुसार प्रशासकिय अधिकृत डाँगीले १० महिनाको अवधिमा दैनिक भत्ता तथा भ्रमण खर्चवाफत साढे ३ लाख बढी रकम लिएको देखिएको छ ।

प्रमुख प्रशासकिय अधिकृत डाँगीले अघिल्लो आर्थिक वर्षको चैतदेखि र चालु आर्थिक वर्षको पुस १८ गतेसम्म दैनिक भत्ता तथा भम्रण खर्चवाफत ३ लाख ६४ हजार ७११ रुपैँया लिएको लेखा समितिको प्रतिवेदनमा तथ्य सार्वजनिक भएको छ ।

यस्तै प्रशासकिय अधिकृत डाँगीले एकैदिन दुई वटा दैनिक भत्ता तथा भ्रमण खर्च लिएको प्रतिवेदनमा छ । प्रमुख प्रशासकिय अधिकृत डाँगीले २०८१ असोज १८ गते भौचर नम्बर ९५ बाट ३२ हजार २७० र भौचर नम्बर ९८ बाट ६० हजार ४९५ रुपैँया लिएको देखिएको छ । यसैगरी असोज १९ गते भौचर नम्बर ११५ बाट ४२ हजार ३७१ लिएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै २०८१ बैशाख २५ गतेको भौचर नम्बर २०८१ बाट २१ हजार ५ सय, जेठ २८ गतेको भौचर नम्बर २०३९ बाट दैनिक भत्ता तथा भ्रमण खर्चवाफत २५ हजार ७५० र पुस्तक खरिदबाट १३ हजार ८१९ रुपैँया लिएको प्रतिवेदनमा छ ।

यसैगरी गत कार्तिक १४ गते भौचर नम्बर ४४३ बाट १२ हजार २ सय, मंसिर ६ गतेको भौचर नम्बर ५५१ बाट १९ हजार १७८, पुस १८ गतेको भौचर नम्बर ८९८ अनुसार ७ हजार ६५० लिएको लेखा समितिको प्रतिवेदनमा उल्लेख छ ।

तुलसीपुर उपमहानगरपालिका लेखा समितिका संयोजक घनश्याम ढकालले प्रमुख प्रशासकिय अधिकृत डाँगीले लिएको भत्ता र खर्च स्वभाविक नभएको बताउनुभयो । ‘एकैदिन यति धेरै रकम दैनिक भत्ता र भाडाखर्च लिन पाउने व्यवस्था छैन् ।’ उहाँले भन्नुभयो–‘एक दिनमा बढीमा २०र२२ हजारसम्म हुनु स्वभाविक मान्न सकिएला, तर यहाँ त झण्डै १ लाख लिएको देखिन्छ, यो त कुनै पनि ऐन कानुनमा छैन जस्तो लाग्छ ।’

डाँगी तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा २०८० साल चैत्र ९ गतेमा आउनुभएको हो । बाहिरी आवरणमा आर्थिक मितव्ययिताको पक्षपोषण गरेको जस्तो देखिएपनि डाँगी आफैले अस्वभाविकरुपमा एकै दिन धेरै रकम भुक्तानी लिनुले आर्थिक पारदर्शीतामा प्रश्न उब्जिएको संयोजक ढकालले बताएका छन् ।

‘आर्थिक अनुशासनमा कठोर देखिएका अधिकृत डाँगी आफैंले ठूलो रकम अस्वभाविक तरिकाले खर्च गरेको कत्ति सुहाएन ।’ उहाँले भन्नुभयो–‘एकैदिन यति ठुलो रकम लिन पाउने कुनै ऐन कानुनमा छैन ।’ उहाँका अनुसार प्रमुख प्रशासकिय अधिकृत डाँगीले मात्रै होइन्, नगरप्रमुख टिकाराम खड्काका राजनितिक सल्लाहकार खिम बहादुर डाँगीले पनि एकैदिन ३६ हजार ३ सय दैनिक भत्ता र भ्रमण खर्च लिएको प्रतिवेदनमा उल्लेख छ । डाँगीले २०८० मंसिरमा एकैदिन ठुलो रकम भत्ता र खर्च लिएको लेखा समितिले औँल्याएको छ ।

स्थानीयस्तरमै बढ्दो आर्थिक अनियमितताका घटनाले नागरिकहरूको आक्रोश बढ्दै गएको छ । लेखा समितिले सम्पूर्ण प्रक्रिया पुनरावलोकन गरी थप अनुसन्धान गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

तपाईको प्रतिक्रिया