
सुर्खेत । सुर्खेतकाे वीरेन्द्रनगरमा पाठेघरकाे मुखमा हुने क्यान्सर राेगविरुद्धकाे खाेप अभियान सुभारम्भ भएकाे छ । आगामी फागुन ६ गतेसम्म सञ्चालन हुने खाेप अभियानकाे बुधबार वीरेन्द्रनगर नगरपालिकाका प्रमुख माेहनमाया ढकालले सुभारम्भ गरेकी हुन् । श्री कृष्ण संस्कृत साधारण माविबाट सुरु भएकाे अभियान जिल्लाका नाै वटै स्थानीय तहमा सञ्चालन हुनेछ । अभियानकाे सुभारम्भ गर्दै नगर प्रमुख ढकालले किशाेरावस्थामा हुन सक्ने पाठेघरकाे मुखकाे क्यान्सरकाे जाेखिम घटाउने उद्देश्यले खाेप अभियान थालिएकाे बताइन ।
याे खाेप अन्य नियमित खाेप सरह सुरक्षित रहेकाे उल्लेख गर्दै ढुक्क भएर अभियानमा संलग्न हुन किशोरीलाई नगर प्रमुख ढकालले आग्रह छ । नगरपालिकाले महिलामा हुने विभिन्न प्रकारका क्यान्सरकाे निशुल्क पहचानदेखि उपचारमा सहयाेग गर्दै आएकाे उनकाे भनाई थियाे ।
अभियान अन्तर्गत सुर्खेतमा २५ हजार पाँच सय१७ किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी (हृयुमन प्यापुलोना भाइरस) खोप लगाइने छ । जिल्लाका नौ वटै स्थानीय तहमा विद्यालय जाने र नजाने नौ देखि १४ वर्षका किशोरीहरूलाई उक्त खोप लगाउन लागिएको हो । जसमा २४ हजार नौ सय ७५ विद्यालय जाने छात्रा र पाँच सय ५७ जना विद्यालयबाहिर रहेका किशोरी रहेका छन् ।
विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने ११ देखि १४ वर्षसम्मका किशोरीहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन लागिएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए । गौतमका अनुसार पहिलो चरण २२ माघबाट वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका, बराहताला गाउँपालिकामा खोप अभियान सुरु हुनेछ । यस्तै, दोस्रो चरणअन्तर्गत २७ माघबाट चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, सिम्ता गाउँपालिका र गुर्भाकोट नगरपालिकामा खोप अभियान सञ्चालन हुने गौतमले बताए ।
पहिलोपटक अभियानका रूपमा किशोरीहरूलाई खोप लगाउन लागिएको जनाउँदै गौतमले यसपछि नियमित रूपमै खोप सेवा सञ्चालन हुने बताए । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार खोप अभियानमार्फत गुर्भाकोट नगरपालिकाका ४२ विद्यालयमा रहने खोप केन्द्रबाट तीन हजार पाँच जना किशोरीहरूलाई खोप लगाइने छ । पञ्चपुरी नगरपालिका १८ विद्यालय र १० अन्य खोप केन्द्रमार्फत दुई हजार दुई सय ६ जना किशोरीले खोप सेवा प्राप्त गर्नेछन् ।
यस्तै, भेरीगंगा नगरपालिकाका ४४ विद्यालयमा रहने खोप केन्द्रबाट दुई हजार आठ सय ५८, लेकवेशी नगरपालिकाका २८ विद्यालयका खोप केन्द्रबाट एक हजार सात सय ४९, वीरेन्द्रनगर नगरपालिकाका ६७ विद्यालयका केन्द्रबाट दश हजार सात सय १३ किशोरीलाई खोप लगाइने कार्यालय प्रमुख गौतमले बताए । चिङ्गाड गाउँपालिका १७ विद्यालय र चार अन्य खोप केन्द्रमार्फत नौ सय आठ, चौकुने गाउँपालिकाका २० विद्यालय र ११ अन्य खोप केन्द्रबाट एक हजार दुई सय ८२, बराहताल गाउँपालिकाका ३९ विद्यालयका खोप केन्द्रबाट एक हजार तीन सय ९८, सिम्ता गाउँपालिकाका १७ विद्यालय र १० अन्य खोप केन्द्रमार्फत एक हजार तीन सय ९८ जना किशोरीहरूलाई खोप लगाइने जनाइएको छ ।

नेपालीरैबार । २०८१ माघ २२, मंगलवार