हिंसा प्रभावितलाई भविष्यको चिन्ता

कक्षा ११ मा पढ्दै गरेकी रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –७ की १७ वर्षीया पुनम (नाम परिवर्तन) लाई छिमेकी गाउँका केटाले पिछा गरेको दुई महिनामै भगाएर विवाह गरे । न रोजगार, न परिपक्व उमेर । कुलतको नशामा रहेका ती केटाले उतै कमाउँला, खाउँला भन्दै भारत लिए । त्यहाँ रक्सि खाएर कुटाई खाने दैनिकी छुटेन ।

पाँच महिनापछि नेपालकै एक महिलाले पुनमलाई भनिन्, ‘तिमीलाई बेच्न ल्याएको हो, मूल्य मिलाउँदैछ ।’ पुनम छाँगाबाट खसेजस्तो भइन् । उनै महिलाको सहायतामा नेपाल फकिइन् । माईती आउँदा बुवाको मृत्यु भईसकेको थियो । बुढी आमाको साथमा बेसहारा बहिनी र भाई छन् ।

आठबिसकोट नगरपालिका –१२ की हरिमाया (नाम परिर्वतन) सात कक्षामा पढ्दापढ्दै गाउँकै एक जनजाती केटासँग माया बस्यो, भागेरै विवाह भयो । विवाह अन्तरजातिय थियो । घरमा स्वीकार भएर । केहि वर्ष लुकेर दाङ बसे । केटाको एसइई दिने बेला घरमा बोलाए । परीक्षा सकेर अर्की केटीसँग भगाएर भारततिर पठाए । हरिमायाको पेटमा बच्चा थियो । छोरी जन्मिईन् ।

एक वर्ष माईतीबाटै लिएर साँझ बिहानको छाक टर्यो । माईतीको बोझ बन्दिन भन्दै हरिमाया सदरमुकाम खलङगा आए । होटेलमा काम गरिन् । छोरी चार वर्षको पुग्दा धादिङको एक पुरुषले साथ दिन्छु, हेरचाह गर्छु भन्दै प्रलोभनमा पारे । विवाह गरेर धादिङ जानुभएकी हरिमायालाई घरभित्र पस्न दिईएन । तल्लो जातको भएको भन्दै धपाएपछि फेरि खलङगा नै आएकी उनको साथमा अहिले छोरा पनि छ । उनले अरुको लुगा धोएर, गिटी फोरेर छोराछोरीको छाक टार्ने गरेकि छन् ।

उमेर नपुग्दै विवाहको प्रलोभनमा झन्डै बेचिएकी पुनम र अन्तरजातिय प्रेमले हिंसाको सिकार भएकि हरिमाया जस्ता दर्जनौ किशोरीहरु चरम हिंसाको मार खेपिरहेका छन् । बाल विवाह र घरेलु हिंसाका कारण उनीहरुको भविष्य अन्यौलमा परेको छ । पुनम भन्छिन् ‘दिदिबहिनी पढ्न पाएनौ, भाई पढ्न जान्छ । खर्च धान्न सकिन्न । मेरो अवस्था नाजुक छ, आमा तनावमा छिन् ।’ पुनम र हरिमाया जस्ता किशोरीलाई पछुतो छ, ‘कुन दशा लागेर यो अवस्था आईलाग्यो ।’ उनिहरुलाई सानै उमेरमा गरेको विवाहप्रति पछुतो र भविष्य प्रतिको चिन्ता छ ।

हिंसा प्रभावित केहि किशोरीहरु अहिले मुसिकोटमा रहेको रुपान्तर नेपालमा सिकाईकटाई सिक्दै छन् । रुपान्तरका कार्यक्रम संयोजक झरना खड्काले हिंसा प्रभावित र मानव बेचविखनमा परेका महिलालाई सेफ सेल्टरमा राखेर जिविकोपार्जनका लागि सीप सिकाई रहेको बताए । यो संस्थाले यसअघि २५ महिलालाई तालिम दिएर व्यवसाय सञ्चालनका लागि मेसिन र अन्य सहयोग गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङक अनुसार गत आर्थिक वर्ष ०८०÷०८१ मा ६७ वटा र चालु आर्थिक वर्षको हालसम्म २५ वटा महिला हिंसाका उजुरी प्राप्त भएका छन् । बहुसंख्यक घटनाहरु गाउँमै टुङग्याउने गरेका छन् । त्यहाँ मेलमिलाप तथा टुङगोमा लाग्न नसकेका घटनाहरु मात्र प्रहरीमा आउने गर्छन् । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार अपरिपक्क उमेरमा हुने विवाहको कारण घरेलु हिंसा र सम्बन्ध बिच्छेदका घटना बढी हुने गरेका छन् ।

रुकुम जिल्ला अदालतका श्रेष्तेदार मन्दिरा शाही अदालतमा सम्बन्ध बिच्छेदका घटना बढी आएको बताउछन् । साउन महिना यता मात्र अदालतमा १२० वटा सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएका छन् । घरेलु हिंसाका मात्र आठ मुद्धा छन् । श्रेष्तेदार शाहीले बाल विवाह, घरेलु हिंसाकै कारण सम्बन्ध बिच्छेद बढी हुने गरेको बताएका छन् । बैदेशिक रोजगारी, पुरुषवादी चिन्तन हाबी हुँदा पनि हिंसाका घटना बढी हुने गरेका छन् ।

बाल विवाह बिरुद्धको साझा अभियान जिल्ला सञ्जालका अध्यक्ष गोकर्ण खड्काका अनुसार महिला हिंसा, सम्बन्ध बिच्छेद, बहुविवाह लगायतका घटनाको मुख्य कारण बालविवाह हो । २०७८ को जनगणना अनुसार जिल्लामा ७४.३५ प्रतिशत बालविवाह हुने गरेको छ । सञ्जालका जिल्ला अध्यक्ष खड्काले अशिक्षा, बेराजगारी, अभिभावकको लापरबाहि, प्रविधिको दुरुपयोग लगायतका कारण बालविवाह र हिंसाका घटना हुने गरेको बताए । उनका अनुसार रुकुम पश्चिमको मुसिकोट नगरपालिका, त्रिवेणी र बाँफिकोट गाउँपालिकाले बाल विवाह अन्त्यका लागि रणनीतिक योजना निर्माण गरेका छन् । पछिल्लो समय बाल विवाह घट्दो क्रममा रहेको पाईन्छ ।

तपाईको प्रतिक्रिया