
मृतक जमुना ।
रुकुम पश्चिम । अनलाईन ठगीमा परेकी रुकुम पश्चिमकी एक महिला मृत अवस्थामा फेला परेकीछिन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –८ तल्लो आमडाँडा निवासी अन्दाजी २५ वर्षीया जमुना रसाईली घर नजिकै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान आफ्नो घर देखि नजिकैको स्याला भन्ने जङ्गलमा जमुना झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । जानकारी अनुसार जमुना अनलाइन गिफ्टको नाममा हुने ठगीमा परेकि थिइन् । केही दिन अघि उनलाई ८ लाख गिफ्ट परेको म्यासेज गरेर उहाँसँग रकम बार्गेनिङ गरेको र सोही क्रममा जमुनाले ३ लाख रुपैयाँ जम्मा गरिदिएको परिवारजनले बताएका छन् ।
जमुनाले १ दिन अघि आफूसँग भएको रकम, गरगहना बेचेर करिब ३ लाख रकम अपरिचित व्यक्तिको बैंकिङ खातामा हालिदिएको बताईएको छ । त्यसपछि जमुनालाई ब्लक गरेको र उक्त कुरा परिवारले थाह पाएपछि जमुना बिहीबार दिउँसोबाट सम्पर्कविहीन भएको स्थानीयले बताएका छन् । अनलाइन ह्याकरले ३ लाख जम्मा गरेपछि मात्रै आठ लाख बराबरको गिफ्ट पठाउन मिल्ने प्रलोभन दिएको बुझिएको छ ।
जमुनाका श्रीमान रोजगारीको लागि भारतमा रहेका बताइएको छ । उनको घरमा एक छोरा, सासु, ससुरा र देवर छन्। अहिले घटनास्थलमा प्रहरी चौकी सिम्लीबाट प्रहरी टोली पुगेको छ ।

नेपालीरैबार । २०८१ माघ २५, शुक्रबार