पुर्खाले खोप नलगाएको,आफूहरूले पनि नलगाउने राउटे मुखिया सूर्यनारायण

दैलेख । सरकारले १० वर्षदेखि १४ वर्ष उमेर समुहका किशोरिलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाउदै आएको छ । राष्ट्रिय कार्यक्रमको सन्दर्भमा राउटे बालबालिकाले कुनै पनि खोप लगाउन नमानेको समेत बताइएको छ ।

यही माघ २२ गते मङ्गलबार राउटे समुदायमा नयाँ सदस्य वराहताल शाहीको जन्म भएको थियोे । त्योभन्दा अगाडि दुई बालबालिकाको जन्म भयो तर ती तिनै जना बालबालिकाले लगाउनुपर्ने क्षयरोगविरुद्धको बिसिजी खोप लगाएनन् । उनीहरू मात्र होइन, राउटे समुदायका कुनै पनि सदस्यले सरकारले निर्धारण गरेका खोप लगाउन मानेनन् ।

सोसेक नेपालद्वारा सञ्चालित राउटे परियोजनाका अनमी अन्जु पन्तले सरकारले सञ्चालन गर्ने विभिन्न खोप कार्यक्रममा राउटेलाई सहभागी गराउने प्रयास गरिए पनि सफल हुन नसकेको बताएकि छन् । उनले राउटे मुदायका बासिन्दाले आफूहरूले सुई (इन्जेक्सन) नलगाउने र बरु औषधी खाने भनेको उल्लेख गरेकि छन् ।
अहिले पनि सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने १०–१४ वर्ष उमेर समूहका २० जना राउटे किशोरी भए पनि खोप लगाउन नमानेका कारण बस्तीमा स्वास्थ्यकर्मीसमेत नआएको अनमी पन्तको भनाइ छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका पब्लिक हेल्थ नर्सिङ अधिकृत हरिकला थापाले बालबालिकामा लाग्ने भ्यागुते रोग, धनुष्टङ्कार, लहरेखोकी, दादुरा, निमोनिया, पोलियोलगायतका रोगबाट बच्न बालबालिकालाई खोप लगाउनुपर्ने भए पनि राउटे समुदायका बालबालिका खोपबाट वञ्चित भएको पहिलो पटक जानकारी आएको बताइन् ।

उनले सबै बालबालिकालाई पूर्ण खोप र अन्य राष्ट्रिय खोप कार्यक्रममा राउटे समुदायलाई सहभागी गराउन राज्यका जिम्मेवार निकाय नै लाग्नुपर्ने जनाएकि छन् । कोरोनादेखि एचपिभी खोप कार्यक्रम चलाउँदासमेत राउटे समुदाय खोपबाट वञ्चित छन् ।

गुराँस गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ८ का अध्यक्ष दीपेन्द्र वलीले राउेट समुदायलाई राज्यबाट प्राप्त हुने सबै खोपका कार्यक्रममा सहभागी गराउन गाउँपालिकाले पहल गर्ने बताए । उनले गुराँस गाउँपालिकाले गुराँस–८ मा अस्थायी परिचयपत्र वितरण गरे पनि उहाँहरूलाई एकै ठाउँमा बसाल्न नसकेका कारण खोप कार्यक्रममा सहभागी गराउन नसकिएको जनाए ।

राउटे मुखिया सूर्यनारायण शाहीले आफूहरू जङ्गलमा फिरन्ते जीवन बिताइरहेको र आफूलाई खोप लगाउन आवश्यक नरहेको बताएका छन् । आफ्ना पुर्खाले खोप नलगाएको भन्दै आफूहरूले पनि नलगाउने तर बिरामी भएमा औषधी खाने उल्लेख गरे ।

राउटे प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारीले राज्यले निःशुल्क रूपमा विभिन्न रोगबाट बचाउन खोप लगाउने गरे पनि राउटेलाई खोप कार्यक्रममा ल्याउन नसकिएको बताएका छन् । उनले राउटेलाई खोप कार्यक्रममा सहभागी गराउन सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता रोकेर पनि खोप लगाउन पहल गर्नुपर्ने सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया