दैलेख । डिभिजन वन कार्यालय दैलेखको आफ्नै भवन निर्माण भएको छ । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले भवनको उद्घाटन गरेका हुन् ।
उनले भवन निर्माण भएसँगै नागरिकलाई सेवा प्रवाह गर्न सहज हुने बताएका छन् । उनले निर्माणको जिम्मा लिएको एक महिना समयअगावै निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीलाई धन्यवाद दिएका छन् । उनले भने, “निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले समयमै काम नगर्दा ताकिता गर्नुपर्ने अवस्था रहेको बेला समयमै काम सक्नु राम्रो काम भयो ।”
तीन करोड २५ लाख रुपियाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी आरबी कन्स्ट्रक्सन दैलेखले निर्माणको जिम्मा पाएको थियो । २०८० असारमा सम्झौता भएको भवनको निर्माणको एक महिना समयअगाडि नै निर्माण सम्पन्न गरिएको निर्माण कम्पनीले जानकारी दिएको छ । निर्माण कम्पनीका सञ्चालक रूपक थापाले निर्माणको समय अवधि एक महिना बाँकी रहँदै भवन निर्माण गरी हस्तान्तरण गरिएको बताए । उनले भने, “आरबी कन्स्ट्रक्सनले निर्माणका जिम्मा पाएका सबै काम निर्माणको समयसीमाभित्र सम्पन्न गर्ने गरेका छौँ ।”
डिभिजन वन कार्यालयका सहायक वन अधिकृत वेदप्रसाद ढकालले लामो समयपछि डिभिजन वन कार्यालयले सुविधासम्पन्न निर्माण भएसँगै सेवा प्रवाहलाई प्रभावकारी बनाउने बताए । उनले साढे दुई तलाको भवनमा कार्यालय सञ्चालनदेखि इजलास कक्ष, थुनुवा कक्ष र कार्यालय प्रमुखको आवास पनि वनाइएको छ । ४७ वर्षपछि नयाँ भवनमा कार्यालय सरेपछि काम कारबाही अझ सहज हुने सहायक वन अधिकृत ढकालले बताए ।









नेपालीरैबार । २०८१ माघ २७, आईतवार