मुगुमा चौँरीपालन संकटमा : घाँस र पानीको अभावले व्यवसाय घट्दै

मुगु । माथिल्लो मुगुमा चौँरीपालन व्यवसाय सङ्कटमा पर्दै गएको छ । जलवायु परिवर्तनका कारणले हिमालका चरन क्षेत्रमा घाँस नहुँदा र खडेरीका कारणले यो व्यवसाय खस्कँदै गएको हो ।

जिल्लाको मुगुमकार्मारोङ गाउँपालिकालाई आर्थिक वर्ष २०७७÷७८ मा कर्णाली प्रदेश सरकारले चौँरी पकेट क्षेत्र घोषणा गरेको थियो । पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका अधिकृत भीमचन्द्र बुढाका अनुसार चौँरी पकेट क्षेत्रमा जलवायु परिवर्तनको असरले चरन क्षेत्रमा घाँस र पानीको अभावले गर्दा चौँरीपालक किसानलाई समस्या भएको छ । कार्यालयको तथ्याङ्क अनुसार उक्त ठाउँमा अहिले ४५७ वटा चौँरी रहेका छन् । वडा नं। १ डोल्पुगाउँमा ५५ वटा, वडा नं. २ मा ३५०, वडा नं. ५ दाउरागाउँमा ५३ वटा चौँरी पाल्दै आएको कार्यालय प्रमुख बुढाले बताए । उनले भने, मुगुमकार्मारोङ गाउँपालिकाको आर्थिक सहयोग र पशु अस्पताल तथा पशु सेवा कार्यालयको प्राविधिक सहयोगमा चौँरीलाई रोगबाट बचाउनका लागि भ्याक्सिन लगाइएको छ, केही सङ्ख्या बढ्छ कि ?

मुगुमकार्मारोङ गाउँपालिका–१ का स्थानीय तोन्जु लामाका अनुसार जलवायु परिवर्तनका कारणले चुनौती हुँदै गए पनि हिमाली भेगका किसानले केही चौँरीपालन गर्दै आएका छन् । भारी बोक्न तथा घिउ, छुर्पी, नौनी, चमरलगायतको प्रयोजनका लागि चौँरीपालन व्यावसाय राम्रो मानिन्छ । चौँरीको घिउबाट वार्षिक ७० हजारदेखि ८० हजार रुपियाँसम्म आम्दानी गर्ने गरेको उनले बताए । प्रतिमाना घिउ एक हजार छ सय रुपियाँमा बिक्री गर्दै आएको उनले जानकारी दिए । हिमाली भेगमा चौँरीपालन व्यवसाय गर्दै आएका किसानले सरकारी निकायबाट चौँरीपालनका लागि अनुदान, रोग उपचार, प्रविधिलगायतमा सहयोग नमिल्दा यो व्यवसाय सङ्कटमा रहेको बताउँछन् । पछिल्लो समय यहाँका किसानले खर्क मासिएका कारण चरण अभावसमेत झेल्दै आएका छन् । जिल्लामा एउटा चौँरीको मूल्य ८० हजार रुपियाँभन्दा माथि पर्ने गरेको स्थानीय कार्मा लामाले बताए ।

तपाईको प्रतिक्रिया