जुम्लामा आइसक्रिम व्यापार : गर्मी बढेपछि नयाँ व्यवसायको सुरु

जुम्ला ।  हिमाली जिल्लामा पनि आइसक्रिमको व्यापार १ सुन्दा नै आश्चर्य लाग्ने । हो, जुम्लामा आइसक्रिमको व्यापार हुन थालेको छ । जुम्ला हिमाली जिल्ला हो ।

जाडो मौसममा यहाँको तापक्रम माइनस १० डिग्रीसम्म पुग्छ । यहाँसम्म कि पानीसमेत जम्छ । तर पछिल्लो समय जलवायु परिवर्तनका कारण जुम्लामा पनि गर्मी हुन थालेपछि त्यहाँ आइसक्रिमको व्यापार सुरु भएको छ । कृषि, पशुपालनबाट आम्दानी गर्ने जुम्लाका बासिन्दाले जलवायु परिवर्तनको असरले आम्दानीको विकल्प खोज्न थालेका छन् । यसैको उदाहरण हो, जुम्लाको तिला गाउँपालिका–१, रारा गाउँका एकै परिवारका चार जनाले आइसक्रिम व्यापार गर्न थालेका छन् । उनिहरूले आइसक्रिम व्यापारमार्फत आत्मनिर्भर बन्ने बाटोमा अघि बढिरहेको बताए । यी चार दाजुभाइ अहिले सदरमुकाम खलङ्गामा ठेलामा आइसक्रिम, कुल्फी, बरफ, चकलेट, कनेटो र बिड्बा राखेर डुलेर व्यापार गर्दै आएका छन् ।

नन्दु अनुसार चार वटा ठेलामार्फत बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म बजारका विभिन्न स्थानमा डुलेर बिक्री गरिएको छ । जुम्ला जस्तो चिसो हुने ठाउँमा आइसक्रिमको व्यापार गर्न थालेपछि मानिसले अनौठो मानेको उनले बताए । चार दाजुभाइमध्ये एक जनाले बसपार्कमा, एक जनाले विमानस्थल क्षेत्रमा, एक जनाले बहुमुखी क्याम्पस आसपास र अर्काले बजारभित्र आइसक्रिम बेच्ने गरेका छन् । उनिहरूको मासिक आम्दानी ६० हजार रुपियाँभन्दा बढी हुने गरेको छ । यही आम्दानीले घरखर्च मात्रै नभई बालबालिकाको पढाइ, लत्ताकपडा, औषधोपचार र केही बचत पनि भइरहेको उनिहरूले बताए ।  स्थानीय गाईभैँसीको दुध सङ्कलन गरी आवश्यक सामग्री आफैँ तयार गरेर उनिहरूले आइसक्रिम बनाउने गरेका छन् ।

जुम्लामा विगतको तुलनामा गर्मी बढ्न थालेपछि आइसक्रिमको व्यापार राम्रो हुने ठानेर आइसक्रिम व्यापार रोजिएको नन्दुले बताए । जुम्ला जस्तो चिसो ठाउँमा आइसक्रिम व्यापार भइरहेको थाहा पाएपछि कांग्रेसका नेता शेखर कोइरालाले जुम्ला कांग्रेस उपसभापति कार्मा बुढामार्फत जुम्लामा पनि गर्मी बढेको हो र भनी जिज्ञासा राखेका थिए । कांग्रेस जुम्लाका उपसभापति बुढाले भने, कांग्रेस नेता शेखर कोइरालाले जुम्लामा गर्मी बढेर आइसक्रिम व्यवसाय भएको रहेछ, जुम्लामा धेरै गर्मी बढेको हो र । साथै उनले आइसक्रिम व्यवसाय गर्ने युवालाई सहयोग गर्न भनेको पनि जनाए।

तपाईको प्रतिक्रिया