जुम्ला । बुवाको किरियामा बस्नुभएका जुम्लाको तिला गाउँपालिकाका प्राविधिक शाखा प्रमुख धनप्रसाद चौलागाईले कार्यालयको काम घरबाटै गरिरहेका छ्न ।
प्राविधिक शाखामा आएका अत्यावश्यक काम प्रभावित नहोस् भनेर किरिया बसेको अवस्थामा पनि उनले घरबाटै काम गरिरहेका हुन् । उनले आफू किरियामा बसे पनि प्राविधिक शाखाको काम रोकिन नदिई घरबाटै गरेको बताए । किरिया बसेको अवधिमा सामान खरिदका लागि टेन्डरको महìवपूर्ण काम भएको उनको भनाइ छ । यस्तै अरू प्राविधिक शाखामा हुने काम भइरहेको उनले जनाए । घरको नक्सा पास र भुक्तानीका काम भइरहेका छन् । सेवाग्राहीको काम लिएर कर्मचारी घरमै आउने गरेको उनको भनाइ छ ।प्राविधिक शाखासँग जोडिएका कुनै पनि कामले पालिकाको सेवा प्रवाहमा बाधा नपुगोस् र सेवाग्राहीले समयमै सेवा पाउन् भन्ने उद्देश्यले बुवाको किरिया बसेको अवस्थामा पनि काम गरेको चौलागाईंले बताए । निजामती सेवा ऐन २०४९ अनुसार किरिया बस्नुपरेमा १५ दिन किरिया बिदा पाउने प्रावधान छ तर तिलाका प्राविधिक प्रमुखले भने घरबाटै कार्यालयको सेवा नियमित दिइरहेका छन् । आर्थिक वर्षको अन्तिम चौमासिक चलिरहेकाले विकासनिर्माणका काम गाउँ गाउँमा भइरहेका छन् । प्राविधिक प्रमुख चौलागाईंले भने, यतिबेला प्राविधिक कर्मचारीको महत्वपूर्ण भूमिका रहन्छ ।
बुवाको निधनपछि परम्परा अनुसार म काजकिरियाको काममा छु तर पालिकामा आएका सेवाग्राहीको काम नरोकियोस्, कसैले दुःख नपाउन् भनेर घरबाटै नियमित सेवा दिइरहेको छु । उनले घरबाटै नियमित सेवा दिएपछि प्राविधिक शाखाका कुनै काम रोकिएका छैनन् । यता तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले किरिया बसेको अवस्थामा पनि जनताको काम गरेकोमा चौलागाईंको सराहना गरे। किरिया बसेको अवस्थामा पनि राष्ट्रसेवक कर्मचारीको भूमिका निर्वाह गरेकोप्रति आभारी भएको उनको भनाइ छ । योजना तथा कार्यक्रमको भुक्तानी समयमै नलिए फ्रिज हुने भएकाले त्यसलाई मध्यनजर गर्दै किरिया बसेको अवस्थामा पनि काम गर्नुलाई गाउँपालिकाले उच्च मूल्याङ्कन गरेको रोकायाले बताए । बुवाको मृत्युको शोकमा परेका बेला पनि गाउँपालिकाको प्राविधिक शाखाको काम गर्नु महत्वपूर्ण भएको उनको भनाइ छ ।

नेपालीरैबार । २०८२ बैशाख १४, आईतवार