कपाल काटेर लखपति बनेका सल्यानका युवा : भीमबहादुर रसाइली

सल्यान । शारदा नगरपालिका–६ बरला घर भएका ४० वर्षीय भीमबहादुर रसाइली सानैदेखि पढेर ईलेक्ट्रिसियन बन्न चाहन्थे। घरको आर्थिक अवस्था कमजोर भएका उनले कक्षा ५ भन्दामाथि पढ्न पाएनन्। पढाइ बीचैमा रोकिएपछि उनको ईलेक्ट्रिसियन बन्ने चाहना पूरा हुन सकेन।

पढाइ बीचैमा छुटेपछि घर खर्चको लागि उनले १२ देखि १७ वर्षको उमेरसम्म मजदुरी गरे। मजदुरी गर्दै जाने क्रममा उद्योग विकास कार्यालय सल्यानले दिएको कपाल काट्ने तालिम लिने अवसर पाए उनले। एक महिनासम्म उनले लगातार तालिम लिए। यही तालिम उनको जीवनस्तर सुधारको राम्रो माध्यम बन्न पुगेको छ। सर्वसाधारणको कपाल काटेरै उनी लखपति भएका छन्। तालिम सिकेर खलंगामै टप वान हेयरकटिङ्ग सेन्टर खोलेर दैनिक २० देखि ३० जनासम्मको कपाल काटी उनले मासिक ८० हजारसम्म कमाइ गर्दै आएका छन्। जसबाट आफ्नो चार जनाको परिवारलाई सजिलै पाल्दै मात्र आएका छैनन्, बस्ने गतिलो घर बनाएका छन् भने घर नजिकै सात रोपनी जग्गा, एक घडेरी जोडेका छन्।

त्यत्ति मात्र नभई आफ्ना बुबालाई समेत खेतीपाती गर्ने उनले जग्गा किनिदिएका छन्। २२ वर्षदेखि लगातार कपाल काटेर उनले चार जनाको परिवारको सबै खर्च छुट्याएर ७० लाख भन्दा बढीको सम्पत्ति जोडिसकेका छन्। पछिल्लो समयमा सबैजसो युवापुस्ता प्लस टु पास गरेर खाडी लगायत अन्य मुलुक धमाधम गइरहेका बेला हातमा सीप भएपछि विदेश जान पर्दैन घरमै बसेर केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् रसाइली। उनी भन्छन्, सानैदेखि मलाई सीपमूलक काम गर्न मन लाग्थ्यो। त्यही भएर म २०५७ सालमा उद्योग विकास कार्यालय सल्यानले दिएको कपाल काट्ने तालिममा सहभागी भए। घरकाले कपाल काटेर कहिले प्रगति होला त भनेर तालिममा नगएर घरको काम गर भनी अड्को थापे । मैले मानिन र एक महिने तालिम सकेँ। उनले त्यसपछि रुकुम पश्चिमको चौरजहारीमा पसल खोले। म जबरजस्ती गएर कपाल काट्न सुरु गरेँ। चौरजहारी बजारमा तीन महिना बसेर कपाल काट्दा मैले २०५९ मा ६ हजार रुपैयाँ कमाए, उनी भन्छन्, त्यो पैसा घरमा ल्याएर देखाउँदा सबै अचम्म परे।ुत्यसपछि भने उनी कपाल काटेर पनि पैसा कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बने। उनले घरसल्लाहमै चौरजहारीको बसाइ त्यागे, र शारदा नगरपालिका–२ को खलंगामा ५ हजार खर्च गरेर टप वान हेयर सैलुनु खोले। अब त यही हेयर सैलुन मेरो जीवन परिवर्तनको माध्यम बनेको छ, उनी भन्छन्।

अहिले बिहानदेखि साँझसम्म कपाल काट्ने काममा व्यस्त हुन्छन् । पहिला मजदुरी गरी घर खर्च चलाउन गाह्रो हुन्थ्यो। चाडपर्वमा के खाने, के लगाउने भन्ने चिन्ता हुन्थ्यो। बिरामी भएमा उपचारको लागि अस्पताल जान स्थानीय ठूलाबडासँग ऋणको जोहो गर्नु पर्ने हुन्थ्यो। यही पेसाले मलाई सबै पुगेको छ। कसैकासामु हात जोड्न परेको छैन, उनले भने, परिवारसँगै बसेर काम गर्न पाएको छु । यसमै खुसी छु। उनको सैलुनमा अहिले कपाल काटेको एक सय, दारी काटेको ५०, कपाल रंगाएको दुई सय रुपैयाँ पर्छ। आफूले तालिम लिएर राम्रो प्रगति गरेपछि एक दर्जन भन्दा बढीलाई तालिम दिएर कपाल काट्ने पेसामा संलग्न गराएको उनले सुनाए। मैले त छोरालाई समेत कपाल काट्न सिकाइसकेको छु, उनले भने। सदरमुकाम खलंगामा हेयर सैलुन खोलेर पेसा गर्दै आएपनि अहिलेसम्म सम्बन्धित निकायले कुनै सहयोग नगरेको र स्थानीय तहले व्यवसाय प्रवर्द्धनका लागि कुनै सहयोग नगरेको उनको गुनासो छ ।

तपाईको प्रतिक्रिया