चन्दननाथ र तातोपानी बीच भगिनी सम्बन्ध स्थापना

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुवै पालिकाको सीमाक्षेत्र एकआपसमा जोडिएकोले अधिकांश कामहरु संयुक्त रुपमा सञ्चालन गर्न सहज होस् भनेर भगिनी सम्बन्ध स्थापित गरिएको हो ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई र चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले १५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध गाँसेका हुन् । दुवै पालिकाका प्रमुख प्रशासकीय अधिकृत र एक÷एक जना वडाध्यक्ष साक्षी राखेर भगिनी सम्बन्ध स्थापित गरेका हुन् । आपस समन्वय सहकार्य र साझेदारीमार्फत दुई पालिकाबीच अनुभव आदानप्रदान गर्ने भगिनी सम्बन्ध स्थापित गरेको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिएका छन् । उनका अनुसार साझा प्रयत्नबाट संस्थागत प्रणाली सुदृढीकरण र सबलीकरण गर्न यो सम्बन्धले सहयोग मिल्नेछ ।

दुवै पालिकाको संस्थागत सबलता र सुदृढीकरणमा सहकार्य गर्ने, असल अभ्यास तथा सफल अनुभवको आदानप्रदान गर्ने, स्थानीय पर्यटन प्रवर्द्धन गर्ने, प्रकृति र पर्यावरणको संरक्षण गर्ने, स्थानीय सुशासनमा सहकार्य गर्ने, स्थानीय सरकारबीच साझेदारी कार्यक्रम गर्ने, स्थानीय उत्पादन र बजार व्यवस्थापनमा सहकार्य गर्ने पनि भगिनी सम्बन्धका क्रममा भएको सहमतिपत्रमा उल्लेख गरिएको छ ।

मानवीय पालिका बनाउने, आपसी हितका लागि अध्ययन तथा अवलोकन गर्ने,फोहोरमैला व्यवस्थापनमा साझा लगानी गर्ने, सीमा विवाद क्षेत्र निर्धारण, तिला नदीको संरक्षण र सवारीसाधनको प्रयोग सहलगानीमा गर्ने पनि सहमतिपत्रमा छ । शिक्षा, स्वास्थ्य खानेपानी, जलविद्युत्, यातायात पर्यटन लगायतका क्षेत्रमा दीर्घकालीन योजना बनाएर सहलगानीमा अघि बढ्ने पनि भगिनी सम्बन्धको उद्देश्य रहेको छ ।

तपाईको प्रतिक्रिया