कर्णाली । कर्णाली प्रदेश सरकारले सडक क्षेत्रमा बढ्दो दुर्घटनाको कारण अध्ययन र योजना बिना निर्माण भइरहेका सडकहरूलाई मानेर वैज्ञानिक र व्यवस्थित विकासका लागि ‘प्रादेशिक सडक सञ्जाल गुरुयोजना’ तयार पारेको छ।
गुरुयोजनाको मुख्य उद्देश्य सडक निर्माण प्रक्रियालाई पारदर्शी, वस्तुगत र प्रभावकारी बनाउने हो, जसले सीमित स्रोत साधनको अधिकतम उपयोग गर्न सकियोस् । साथै, सडक योजना छनोट तथा प्राथमिकीकरणमा वैज्ञानिक आधार अपनाएर क्षेत्रीय सन्तुलनसहित समावेशी आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ। यो गुरुयोजना कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको आधारमा तयार गरिएको हो र यसले मध्यकालीन लगानी योजना निर्माणमा सहयोग गर्नेछ। यसले प्रदेशमा रहेका सडकहरूलाई प्राथमिकता दिने आधार तय गर्छ, जसले गर्दा भौतिक पूर्वाधारको विकास समग्र प्रादेशिक विकास योजनासँग समन्वयमा अगाडि बढ्न सक्छ। साना टुक्रे योजनाहरूमा बजेट विनियोजन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै दीर्घकालीन र सुदृढ संरचना विकासतर्फ केन्द्रित गर्ने नीति लिइएको छ।
सडक तथा पुल निर्माण र मर्मत सुधारको लागि आवश्यक आधार निर्माण गर्ने, लगानी योजना तय गर्ने, र वैदेशिक सहयोग भित्र्याउन लगानी सम्मेलनको माध्यमबाट पहल गर्ने पनि यो गुरुयोजनाको उद्देश्यहरू हुन्। यसबाट सडक क्षेत्रको समग्र व्यवस्थापन वैज्ञानिक ढंगले हुनसक्ने, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने र प्रदेशको समग्र सामाजिक–आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

नेपालीरैबार । २०८२ बैशाख १६, मंगलवार