कर्णालीमा विद्यार्थीको कमजोर सिकाईस्तर सुधारका लागि सम्मेलन

सुर्खेत । कर्णालीमा भाषिक तथा गणितीय सम्मेलन गरिएको छ । विद्यार्थीको आधारभूत भाषिक तथा गणितीय सीप सिकाईको अवस्था कमजोर रहेको अवस्थामा कर्णालीमा सम्मेलनको आयोजना गरिएको हो ।

विभिन्न सिकाई परीक्षण मूल्यांकनले अधिकांश विद्यार्थीहरुले पाठ्यक्रममा निर्धारण गरिएको सिकाई उपलब्धि हासिल गर्न नसकेका जनाएका छन् । आधारभूत भाषिक तथा गणितीय सीप विद्यार्थीको शैक्षिक यात्रामा महत्त्वपूर्ण प्रभाव पार्छ । यसको कमीले विद्यार्थीको शैक्षिक गतिविधिमा सक्रिय सहभागिता, प्रस्तुति, रचनात्मक अभिव्यक्तिमा संलग्नता र विद्यार्थीको आत्मविश्वास र सिक्ने उत्पेरणामा पनि नकारात्मक असर पुर्‍याउँछ । तर, विद्यार्थीमा यो सीप सिकाई कमजोर छ ।

विद्यार्थीको आधारभूत भाषिक तथा गणितीय सीप सिकाई स्तर कमजोर रहेको तथ्यलाई आधार मान्दै कर्णालीमा आधारभूत भाषिक तथा गणितीय सीपसम्बन्धी सम्मेलन आयोजना गरिएको हो । आधारभूत भाषिक तथा गणितिय सीपको महत्त्व तथा सिकाई परीक्षणका नजिताबारे छलफल र जानकारी गराउने, सिप सुधार केन्द्रित गरिएका असल अभ्यासबारे प्रस्तुति गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । स्ट्रिट चाइल्ड अफ नेपाल, आस्मान नेपालको सहयोगमा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सम्मेलन आयोजना गरेको हो । सिकाई स्तरमा आधारित शिक्षण पद्धति ९ट्राल० रणनीति, कार्यान्वयन प्रक्रिया, अनुकूलन तथा अपनाइएका विधिहरुबारे जानकारी दिन र प्रदेश तथा स्थानीय सरकार तथा सरोकारवालाहरूलाई स्रोत साधन परिचालन र आधारभूत भाषिक तथा गणितीय सीपसम्बन्धी क्रियाकलापहरूको प्राथमिकीकरण तथा विस्तारबारे उत्प्रेरित गर्दै पैरवी गर्ने उदेश्यले सम्मेलन आयोजना गरिएको बताइएको छ ।

कक्षा ३ को विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (नासा) –२०२० को प्रतिवेदन अनुसार ८.४१ प्रतिशत विद्यार्थीहरुले मात्र हासिल गर्नुपर्ने तह वा कक्षा अनुरुपको सिकाई दक्षता हासिल गरेका छन् । १० प्रतिशत विद्यार्थीहरुले एउटा शब्द पनि शुद्धसँग पढ्न नसकेको प्रतिवेदनले देखाएको छ । कक्षा ८–नासा प्रतिवेदन २०२० अनुसार गणितमा ३२.१, विज्ञानमा ३७.७, नेपालीमा ५८.८ र अंग्रेजीमा ५१.५ प्रतिशत विद्यार्थीले आधारभूत दक्षतास्तर पार गरेको छन् । अधिकांश विद्यार्थीको सिकाई उपलब्धि कमजोर छ । सिमित विद्यार्थीहरुले मात्रै सिकाई दक्षता हासिल गरेका छन् । विद्यार्थीहरुले आधारभूत सिकाईमा ध्यान पुर्‍याउन नसक्दा सिकाईस्तर सुधार गर्न कठिनाई छ । यसले विद्यालय छोड्ने दर बढाएको छ ।

पुरानै पाठ्यक्रम, प्रविधिसँग जोड्ने खालका सिकाई सामग्री नहुनु, शिक्षक दरबन्दी मिलान नहुनु र शिक्षकको क्षमता विकास गर्ने शैली नै परम्परागत हुँदा विद्यार्थीको सिकाई कमजोर बन्न पुगेको गाउँपालिका महासंघ कर्णालीका अध्यक्ष निमबहादुर केसीले बताएका छन् । अहिलेको बदलिँदो प्रविधिको युगलाई सुहाउँदो शिक्षण सिकाई पद्धति अपनाउनुपर्ने केसीको भनाइ छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक टुकराज अधिकारीले शिक्षामा लगानी, सिकाई पद्धतिहरुको प्रभावकारी कार्यान्वयनको चरणलाई बलियो बनाउन सके विद्यार्थीको सिकाईस्तर सुधार हुने बताए ।

तपाईको प्रतिक्रिया