तिला गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन

जुम्ला । तिला गाउँपालिकाले विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको छ । तिलाको घोडेमहादेव र कुडारी स्वस्थ्यचौकीमा विशेषज्ञ स्वास्थ्य शिविर चलाएको हो ।

विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविरबाट ७६५ जनाले स्वास्थ्य सेवा लिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको विशेषज्ञ टोली शिविरमा खटिएको थियो । गाउँमै विशेषज्ञ चिकित्सक पुगेर स्वास्थ्यजाँच गर्न पाउँदा स्थानीय खुसी भएका छन् । तिला–३ की रत्नकली सुनार घुँडा र छाती दुख्ने समस्याले ग्रसित थिइन् । शिविरमा विशेषज्ञले उनको समस्याको पहिचान गरी उपचार सेवा दिएका छन् । उनले भनिन्, आर्थिक अभावका कारण खलंगा पुगेर उपचार गराउन पाएकी थिइन् । गाउँमै डाक्टर पुगेपछि खुलेरै स्वास्थ्य समस्या राख्न पाएँ । त्यही अनुसारको औषधी र उपचार सेवा पाएँ ।

तिला गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको विशेषज्ञ स्वास्थ्य शिविरमा घोडेमहादेवमा २६१ जना र कुडारी स्वास्थ्य शाखामा ५०४ जनाले सेवा लिएको स्वास्थ्य शाखाका फोकल पर्सन उत्तम देवकोटाले जानकारी दिए । ‘ग्रामिण बस्तीका नागरिकले खर्चको बोझले विशेषज्ञ सेवा पाइरहेका थिएनन्ु, उनले भने, यो पटक चिकित्सकलाई खुलेरै समस्या राख्न पाए । शिविरमा स्त्रीरोग, हाडजोर्नी, नसारोगको सेवादेखि सामान्य चिकित्सकीय सेवा प्रदान गरिएको थियो । गरिबीका कारण वर्षौंदेखि रोग पालेर बसेका नागरिक थिए । यो शिविरले उनीहरुको उपचार पनि गर्‍यो । औषधी दिएर बिरामीलाई खुसी पनि बनाइयो, फोकल पर्सन देवकोटाले थपे, अब पटक पटक शिविरको आयोजना गरेर नागरिकको स्वास्थ्य अवस्थामा निगरानी गर्ने लक्ष्य छ ।

घोडेमहादेवको शिविरमा ६ गाउँ र कुडारी शिविरमा १० भन्दा धेरै गाउँका स्थानीयले विशेषज्ञ स्वास्थ्य सेवा पाए । तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले नागरिकको स्वास्थ्य प्राथमिकतामा राखेर काम भइरहेको बताए । उनले भने, गाउँमा धेरै स्वास्थ्य समस्या भोगिरहेका नागरिक छन् । उनीहरुको रोगको पहिचान गर्ने, उपचार सेवा प्रदान गर्ने र रोगको प्रकृति अनुसार उपचारका लागि मार्ग देखाउन शिविर चलेको हो । उनका अनुसार जनतासँग अध्यक्ष, उपाध्यक्ष कार्यक्रमको बजेटबाट स्वास्थ्य शिविर चलाइएको हो ।

तपाईको प्रतिक्रिया