सल्यान । जिल्लाको छत्रेस्वरी गाउँपालिकाको लान्ती–लेखपोखरा–दमाचौर हुँदै रोल्पा जोडिने सडक खण्डको पुल्लेबोट खोलाको जीर्ण तथा भत्किएको कल्भर्ट सवारीसाधनको जोखिम बन्दै गएको छ ।
सम्बन्धित निकायले मर्मत तथा पुनर्निर्माणमा ध्यान नदिँदा कल्भर्ट पार गर्दा सवारी साधन दुर्घटनामा पर्ने जोखिम बढेको छ । कल्भर्टको छेउको भाग भत्किएको र ढलान गरेको स्थानमा प्वाल परेर सरियासमेत बाहिर निस्किएका छन् । उक्त सडकखण्डबाट दैनिक दर्जनौं मोटरसाइकल, एम्बुलेन्स, ट्याक्टर, साना सवारीसाधन र यात्रुवाहक बस आवतजावत गर्छन् । तत्कालीन जिल्ला विकास समिति सल्यानमा सञ्चालित विश्व बैंक कार्यक्रमबाट एक दशकअघि साना गाडी आउजाउमा सहज होस् भनेर उक्त कल्भर्ट निर्माण गरिएको थियो ।
सडक निर्माणसँगै कल्भर्ट निर्माण गरे पनि पछिल्लो समयमा उक्त कल्भर्ट पुनर्निमार्णमा कुनै निकायको ध्यान पुगेको छैन । भारी र तीव्र गतिमा आएका बेला सवारी साधन कल्भर्टबाट खोलामा खस्ने जोखिम रहेको स्थानीय दिपक बोहराले बताएका छन् । एकातिरबाट भत्किएको र अर्कोतिरबाट प्वाल परेर सरिया बाहिर निस्केकाले बेलाबेलामा दुर्घटना भइरहने अर्का स्थानीय गणेश विकले बताए । बर्खामा खोला ठूलो हुँदा कल्भर्टमाथिबाटै पानी बग्छ । कल्भर्ट साँगुरो र बर्खामा बाढीका कारण रुखका हाँगाले थुनिँदा भल खेतबारीमा पुग्छ ।
- पालिकासँग छैन बजेट
यता स्थानीय तहले भने कल्भर्ट निर्माणका लागि बजेट पर्याप्त नभएको बताएको छ । छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष फौदबहादुर बस्नेतले पालिकासँग पर्याप्त बजेट नहुँदा कल्भर्ट पुनर्निर्माण गर्न नसकिएको बताए । केही वर्षअघि उक्त सडक खण्डको सांगारमुलमा कल्भर्ट निर्माण गरिएको थियो । त्यो पनि जीर्ण हुँदै गएको छ । जीर्ण कल्भर्ट मर्मत तथा पुर्णनिर्माणको लागि हामीले अघिल्लो वर्ष बजेट माग गरेका थियौं । तर आएन । बजेट धेरै लाग्ने देखिएपछि यो वर्ष प्रदेस सरकारसँग माग गरेका छौं । बजेट नपरे पालिकाकै बजेट विनियोजन गरेर कल्भर्ट निर्माण गर्छौं, उनले भने ।

नेपालीरैबार । २०८२ बैशाख १७, बुधबार