रुकुम पश्चिम । रुकुम पश्चिममा नेपाल वायुसेवा निगमले सल्ले विमानस्थलमा उडान थप गरेको छ ।
यस अघि हप्तामा काठमाडौँ र नेपालगन्ज एक–एक उडान गर्दै आएकोमा अब दुई उडान हुन थालेको छ । नेपाल वायुसेवा निगम रुकुम शाखाका प्रमुख प्रेम ओलीका अनुसार यात्रुको चापपछि उडान थप भएको हो । अबदेखि रुकुम पश्चिमबाट हप्तामा दुई दिन नेपालगन्ज र दुई दिन काठमाडौँका लागि उडान तालिका कायम गरिएको छ । प्रमुख ओलीले अब आइतबार र बिहीबार काठमाडौँ–रुकुम–नेपालगन्ज र मङ्गलबार र शुक्रबार नेपालगन्ज–रुकुम–काठमाडौँ उडान हुने जानकारी दिए । यसअघि हप्तामा एउटा मात्र उडान हुँदा टिकटका लागि समस्या हुने गरेको थियो । काठमाडौँ उडान भएकै दिन अर्को हप्ताका लागि काठमाडौँको टिकट पनि बिक्री भइसक्ने गरेको थियो । यसका साथै टिकटकै लागि कार्यालयमा यात्रुहरु लाइन लाग्नुपर्ने अवस्था थियो । अब भने चाप कम हुने निगमले जनाएको छ ।
निगमको केन्द्रीय, क्षेत्रीय र जिल्लास्थित कार्यालयबाट र अनलाइनबाट समेत टिकट लिने सकिने व्यवस्था रहेको कार्यालयले जनाएको छ । प्राविधिक कारण बाहेक अहिले उडान तालिका अनुसार नै जहाज आउने गरेको बताइएको छ । सोमबारदेखि भाडादर केही घटेको निगमका शाखा प्रमुख ओलीले जानकारी दिए । हाल रुकुमबाट नेपालगञ्जका लागि चार हजार ५०३ रुपियाँ ६० पैसा र काठमाडौँका लागि नौ हजार ९७८ रुपियाँ ४५ रुपियाँ भाडादार कायम छ । यस अघि रुकुमबाट नेपालगञ्जका लागि चार हजार ५३७ र काठमाडौँका लागि १० हजार ८० रुपियाँ भाडादर थियो ।

नेपालीरैबार । २०८२ असार ५, बिहीबार