रुकुम पश्चिम । रुकुम पश्चिमका तीन वटा पालिकालाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिकालाई जेठ २६ गते, मुसिकोट नगरपालिका असार १ गते र आठबिसकोट नगरपालिकालाई असार ३ गते पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषणा गरिएका हो । तीन वटै पालिकाका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप पाएपछि पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक डा. महेश चौलागाईले जानकारी दिए । उनले राष्ट्रिय पूर्ण खोप निर्देशिका, २०७१ को तेस्रो संस्करण २०७७ बमोजिम सम्पूर्ण प्रक्रियाहरु पुरा गरेर पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बताए ।
“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता: पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ पालिकालाई पूर्णखोप सुनिश्चतता तथा दिगोपना घोषणा गरिएको हो । चौरजहारी नगरपालिका, बाँफिकोट र सानीभेरी गाउँपालिकालाई पनि घोषणाको तयारी भईरहेको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाईजर निरीक्षक कृष्णा खड्काले जानकारी दिए । उनका अनुसार जिल्लाका छ वटै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि यसै आर्थिक वर्षभित्र जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको छ । स्वास्थ्य सेवा कार्यालयका अनुसार त्रिवेणी गाउँपालिकाका १६ महिनादेखि ५९ महिनासम्मका एक हजार २२० जना, मुसिकोट नगरपालिकाका एक हजार ७३२ जना र आठबिसकोटका दुई हजार १२५ जना बालबालिकाले पूर्ण खोप पाएका छन् ।
पालिकाभित्र रहेका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाएपछि पालिकालाई पूर्णखोप सुनिश्चिता पालिका घोषणा गर्ने गरिन्छ । स्वास्थ्यचौकीबाट खोप लाएको प्रमाणीकरण वडास्तरीय खोप समन्वय समितिले गरेपछि पालिकालाई सिफारिस गर्ने गर्दछ । नगरप्रमुख तथा गाउँपालिका अध्यक्षको नेतृत्वमा रहेको पालिकास्तरीय खोप समन्वय समितिले स्वाथ्यकर्मीहरुको संलग्नतामा घरधुरी सर्वेक्षण तथा लगत संकलन गरी प्रमाणीकरण गरेपछि पालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिने प्रावधान रहेको छ । पालिकाले जिल्ला खोप समन्वय समितिलाई प्रमाणीकरणसहितको सिफारिस गरेपछि मात्रै जिल्लालाई नै पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिन्छ ।

नेपालीरैबार । २०८२ असार ५, बिहीबार