दैलेखमा ठूलो मात्रामा मिथेन ग्यास रहेको हुनसक्ने अनुमान

दैलेख । दैलेखमा पेट्रोलियम पदार्थको अनुसन्धानको क्रममा ठूलो मात्रामा मिथेन ग्यास रहेको हुनसक्ने अनुमान गरिएकाे छ ।

खानी तथा भूगर्भ विभागका प्रवक्ता दिनेशकुमार नापितका अनुसार चिनियाँ पक्षले लामो समयदेखि गरेको अनुसन्धानले दैलेखमा ठूलो मात्रामा ग्यास रहेको हुनसक्ने देखाएको हो । उनका अनुसार प्रारम्भिक अनुसन्धानले एक अर्ब १२ करोड घनमिटर क्षेत्रफलमा मिथेन ग्यास रहेको हुनसक्ने देखिएको छ । तर, ग्यासको व्यावसायिक उत्पादनको विषयमा भने थप अनुसन्धान गर्नुपर्ने उनले बताएका छन् । चिनियाँ अनुसन्धान पक्षले दिएको जानकारीअनुसार अनुसन्धान गरिएको ठाउँमा एक अर्ब १२ घनमिटर क्षेत्रमा ग्यास रहेको हुनसक्ने देखिएको छ तर, यो प्रारम्भिक अनुमान हो, व्यावसायिक उत्पादनको सम्भाव्यताको विषयमा थप अध्ययन गर्नुपर्छ, उनले भने ।

दैलेखको तीनवटा क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको हुनसक्ने अनुमानमध्ये मुख्य धेरै सम्भावना भएको ठाउँमा चिनियाँ प्राविधिक टोलीले अध्ययन गरेको थियो । चिनियाँ पक्षले नेपाललाई सहयोग स्वरूप सम्झौता गरेर गरेको अध्ययनको समय सकिएर फर्किसकेको छ । प्रवक्ता नापितले थप अध्ययन वा उत्पादनको विषयमा अगाडि बढ्नको लागि चिनियाँ पक्षसँग जानकारी माग गर्दा अध्ययन गरेको ठाउँमा मिथेन ग्यासको सम्भावना रहेको जानकारी प्राप्त भएको बताए । तर, अब अध्ययन गर्नको लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सरकारले निर्णय गर्नुपर्ने उनको भनाइ छ । साथै चिनियाँ पक्षले नै अहिलेसम्मै ठूलो मेहनत र प्राविधिक तयारी गरेकाले थप अध्ययनको लागि उसैको सहयोग माग्न विभागले सरकारलाई सुझाव दिएको समेत उनले बताए ।

प्रारम्भिक अनुमानले मिथेन ग्यास रहेको भन्ने देखाए पनि कति छ भन्ने कुरा भने अहिले अनुमान गर्न सकिँदैन, अब केही समय सम्भावित ठाउँमा कच्चा पदार्थ निकाले उत्पादन गरेर पनि हेर्नुपर्ने हुन्छ तर, यसको लागि भने हामीसँग जनशक्ति र प्राविधिक क्षमता दुवै छैन, उनले भने । आगामी डिसेम्बरसम्म प्रारम्भिक अध्ययनको पूर्ण नतिजा आइपुग्ने पनि प्रवक्ता नापितको भनाइ छ ।

तपाईको प्रतिक्रिया