सुर्खेत काँक्रेविहार यातायातले भित्र्यायो किटोनका १९ नयाँ इभी गाडी

सुर्खेत । सुर्खेत काँक्रेविहार यातायात प्रालिले किटोन कम्पनीका १९ नयाँ विद्युतिय इभी गाडी भित्र्याएको छ । बिहिबार आयोजित साँचो हस्तान्तरण कार्यक्रममा सुर्खेत काँक्रेविहार प्रालिका अध्यक्ष रमेशकुमार सापकोटालाई किटोन ब्राण्डका गाडीको आधिकारिक विक्रेता सशिला मोटर्सका म्यानेजिङ डाइरेक्टर सन्तोष खतिवडाले साँचो हस्तान्तरण गरेका हुन् ।

साँचो हस्तान्तर कार्यक्रममा बोल्दै खतिवडाले इभी गाडीको प्रविधिका बारेमा व्यवसायीलाई जानकारी दिदैँ सय वर्षअघि लोभ भएको इभी थप परिस्कृत प्रविधिका साथ किटोन कम्पनीले बजारमा ल्याएको बताए । अन्य कम्पनीको तुलनामा भरपर्दो र सुरक्षित भएकाले व्यवसायीलाई ढुक्क भएर नागरिकलाई सेवा दिनतर्फ लाग्न उनले आग्रह गरे ।

बजारमा इभी गाडीको ब्याट्रीमा निकै समस्या आउने भन्दै फैलाइएका हल्लामा लाग्न नहुने उनले बताए । यस्तै, काँक्रेविहार प्रालिका अध्यक्ष सापकोटाले पेट्रोलिम पदार्थमा आधारित सवारीभन्दा इभी भ्यानहरु सञ्चालन गर्न सस्तो र भरपर्दो रहेको बताए । ‘पेट्रोल र डिजेलको पैंसा बचाएर इभी गाडीको बैंक किस्ता तिर्न सजिलो पनि हुने र व्यवसायीको भविष्यसँगै वातावरणमैत्री हुने देखेपछि हामी विद्युतीय गाडीमा रुपान्तरण हुन खोजिरहेका छौं,’ सापकोटाले भने ।

हालसम्म प्रालिले सुर्खेत–दैलेख, सुर्खेत–नेपालगन्ज रुटमा ६५ विद्युतीय सवारीबाट नागरिकलाई सेवा दिइरहेको उनले बताए । विद्युतिय सवारीको प्रयोगमा बृद्धि हुँदै जादा कर्णालीमा विद्युतको भोल्टेजका कारण भने समस्या भोग्नु परेको सापकोटाले बताए । उनका अनुसार यहि असार ८ गतेबाट सुर्खेतबाट पूर्वको काकडभिट्टासम्म अत्याधुनिक सेवासहितका रात्रिकालिन यात्रुबहाक बस सञ्चालनमा ल्याउन लागिएको छ । यस्तै, व्यवसायी धर्मराज लामिछानेले भोल्टेज कम हुने तथा सबै ठाउँमा चार्जको व्यवस्था नहुदा समस्या हुने गरेको दुखेसो पोखेँ ।

तपाईको प्रतिक्रिया