सुर्खेतमा हतियार, लागूऔषध र जरायोको सिंङसहित २ जना पक्राउ

‎सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चाइनिज हतियार र ठुलो मात्रामन लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।‎पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ का २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेका छन् ।

‎जिल्ला प्रहरी कार्यालय सुर्खेतले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।‎प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार वीरेन्द्रनगर–८ स्थित कृष्ण मन्दिर नजिकैको एक घरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

‎प्रहरीले उनीहरूको साथबाट एक थान सेमी–अटोमेटिक चाइनिज पेस्तोल, सोही पेस्तोलमा लाग्ने दुई थान म्यागजिन र १२ राउन्ड गोली बरामद गरेको छ ।

‎यसैगरी, विभिन्न साइजका चार थान खुकुरी, दुई थान चक्कु, एक थान बन्चरो र एक थान स्टिल स्टिक पनि बरामद भएको छ ।

‎साथै, प्रहरीले ठुलो परिमाणमा लागूऔषधसमेत बरामद गरेको छ । ‎जसमा १४ सय २६ ट्याब्लेट ट्रामाडोल र नाइट्राजेपाम रहेको छ । प्रहरीले प्रतिबन्धित वन्यजन्तु जरायोको सिङ एक थान पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।

‎‎यसरी गरियो ’अप्रेसन’‎

‎एक स्थानीय व्यक्तिले प्रहरी कन्ट्रोल रुममा आएर आफ्नो टोलमा केही शङ्कास्पद गतिविधि भइरहेको र केही युवाहरूले लागूऔषधको कारोबार तथा हतियार बोकेर हिँड्ने गरेको सूचना दिएका थिए ।

‎‎सोही सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई बिहीबार बेलुका ९ बजेतिर पक्राउ गर्न सफल भएको हो ।‎

‎प्रहरी उपरीक्षक शाहीले भने, ’उनीहरुले आफ्नो व्यक्तिगत सुरक्षा र अन्य समूहसँगको झैझगडाको लागि यस्ता हतियारहरू प्रयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।’‎

‎पक्राउ परेका शाही फरार अभियुक्त‎

‎पक्राउ परेका विधान शाही ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त रहेको पनि खुलेको छ । शाहीमाथि ०७८ साल भदौमा नीरज श्रेष्ठलाई खुकुरी प्रहार गरेको आरोपमा मुद्दा दर्ता भएको थियो‎

‎सोही घटनामा संलग्न अन्य तीन जना पक्राउ परे पनि शाही फरार रहँदै आएका थिए ।‎‎प्रहरीले पक्राउ परेका दुवै जनालाई लागूऔषध, हतियार तथा खरखजाना र वन्यजन्तुसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

उनीहरुले नेपालगञ्ज सीमावर्ती क्षेत्रबाट लागूऔषध खरिद गरी सुर्खेतमा दसौँ गुणा महँगोमा बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया