सुर्खेत । सुर्खेत जिल्ला अदालतले आर्थिक वर्ष २०८१/०८२ मा १ हजार ९२४ थान मुद्दा फर्छ्यौट गर्दै लक्ष्यको ९१.७९ प्रतिशत प्रगति हासिल गरेको छ । अदालतले कुल २ हजार ९१२ थान मुद्दामध्ये ६६।०७ प्रतिशत मुद्दाको छिनोफानो गरेको हो ।
अदालतले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्षको सुरुवातमा जिम्मेवारी सरी आएका १ हजार ३ थान र नयाँ दर्ता भएका १ हजार ९०९ थान गरी कुल २ हजार ९१२ मुद्दा विचाराधीन थिए ।
अदालतले यस अवधिमा २ हजार ९६ थान मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेकोमा १९२४ थान मुद्दाको किनारा लगाउन सफल भएको हो ।
मुद्दा फछ्र्यौटमा उल्लेखनीय प्रगति भए पनि अझै ९८८ थान मुद्दा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेका छन् । बाँकी रहेका मुद्दामध्ये ७ थान मुद्दा दुई वर्षभन्दा पुराना छन् भने ४१ थान मुद्दा १८ महिना नाघेका छन् । त्यसैगरी, एक वर्ष नाघेका मुद्दाको संख्या १६३ रहेको अदालतले जनाएको छ । पुराना मुद्दाको संख्याले न्याय प्रक्रियामा अझै चुनौती रहेको देखाउँछ ।
अदालतका अनुसार मुद्दा फर्छ्यौटमा न्यायाधीशहरूको कार्यसम्पादन हेर्दा, जिल्ला न्यायाधीश दीपक ढकालले सबैभन्दा बढी ७५६ थान मुद्दा फर्छ्यौट गरेका छन् । त्यसैगरी, जिल्ला न्यायाधीश वसन्तराज जोशीले ६११ थान र निलकण्ठ बरालले ५२३ थान मुद्दाको किनारा लगाए ।
यसै अवधिमा न्यायाधीश हिरण्यप्रसाद भण्डारीले १९ थान र मनोज श्रेष्ठले १५ थान मुद्दा फर्छ्यौट गरेको विवरणमा उल्लेख छ ।

नेपालीरैबार । २०८२ श्रावण ३, शनिबार