सुर्खेत । जिल्लाको लेकवेशीका र भेरीगंगा नगरपालिकाका २२६ जनाले जग्गाधनी प्रमाणपत्र लालपूर्जा प्राप्त गरेका छन् ।
भूमि समस्या समाधान आयोगले शुक्रबार लेकवेशीका २१ जना र भेरीगंगाका २०५ जनालाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको हो । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पूर्वी सुर्खेतको लेकबेशी र भेरीगंगा नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गरेका हुन्् ।
लालपूर्जा पाएपछि खुसी व्यक्त गर्दै धनबहादुर सार्कीले भूमि आयोगलाई धन्यबाद दिए । जग्गाधनी पूर्जा भएपछि बल्ल आफूले खनजोत गरिरहेको जमिन मेरै हो भन्ने लागेको उनले बताए । सल्यानबाट उनीहरु सुर्खेत झर्दा मैनतडा क्षेत्र बनमाराले ढाकिएको थियो । त्यहीँ बनमाराले ढाकिएको क्षेत्र मध्ये १७ रोपनी जमिन उनका बुवा तुल्से सार्कीले खरिद गरे । तर लालपूर्जा पाउने आशमा उनको बुवाको निधन भयो ।
भेरीगंगाको काठेघारीकी ७१ वर्षीया मोती खत्रीले जग्गाधनी पूर्जा पाउँदा वर्षौदेखिको सपना पूरा भएको अनुभूति सुनाइन् । लालपूर्जा पाएपछि उनीहरु जस्तै सिंगो मैनतडावासी नै खसी भएका छन् । उतिबेला जंगल फाँडेर बसाएका बस्तीमा अहिले घरैघर छन् । तर गाउँमा सम्पूर्ण पूर्वाधारहरु पुगेपनि सिंगो बस्ती लालपूर्जा विहिन थियो । लालपूर्जा पाएपछि बल्ल अहिले स्थायी बासिन्दावासी भएको उनीहरुमा अनुभूति भएको छ । भेरीगंगा नगरपालिकाका ६, ७ र ८ नम्बर वडामा बसोवास गर्दै आएका २०५ जनाले लालपूर्जा पाएका छन् । भने अरुलाई वितरण गर्ने प्रक्रिया जारी छ ।
यता लेकवेशी नगरपालिका–४ का २१ जनाले लालपूर्जा पाएपछि खुसी व्यक्त गरेका छन् । ८८ वर्षीय बलबहादुर ज्ञवालीले ५२ वर्षपछि जग्गाधनी पूर्जा प्राप्त गर्दा आफ्नो सपना पुरा भएको बताए । २०२८ सालमा बसाँइसरेको भन्दै ५२ वर्षपछि हातमा जग्गाधनी पूर्जा प्राप्त भएको उनको भनाइ छ ।
लेकवेशीकै देवबहादुर बुढाक्षेत्रीले चुनावका बेला नेताहरुले गरेको बाचा बल्ल पूरा भएको बताए । भूमि आयोग सुर्खेतका अध्यक्ष केशरहादुर ओलीक अनुसार जग्गाधनी पूर्जा वितरणलाई सुर्खेतमा तिव्र पारिएको छ । केहीदिन अघि पश्चिम सुर्खेतको चौकुने र बराहताल गाउँपालिकामा पनि पूर्जा वितरण गरिएको उनले जानकारी दिए ।
भुमि समस्या समाधान आयोगका केन्द्रीय उपाध्यक्ष सनद कुमार कार्कीले भुमि आयोग सुर्खेत समितिलाई लालपुर्जा तयार गर्नेदेखि वितरणसम्मको सबै अधिकार दिइएको बताए । देशभर लालपुर्जा वितरण गर्ने कुरामा सुर्खेत जिल्ला देशकै उत्कृष्ट जिल्ला बनेकोमा उनले बधाई दिए । अझै यसरी नै उत्कृष्ट बनेर काम गर्न उनको निर्देशन छ ।
भुमिहिनले लालपुर्जा पाएपनि १० वर्षसम्म जग्गा बेच्न नपाउने व्यवस्था छ । कर्णाली सरकारका पुर्व सामाजिक विकास मन्त्री खड्क पोखरेलले नीति र विधि पु¥याएर काम गर्नुपर्ने भएकाले सबैले एकै पटक लालपुर्जा नपाएपनि पाउने आधार बनेकोमा सबै भुमिहिनलाई ढुक्क रहन अनुरोध गरे ।
लेकवेशी नगरपालिका उपप्रमुख विमला खल्लुकले भुमिहिनलाई पुर्जा वितरण कार्य सुरु भएकोमा खुसि व्यक्त गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताईन । भेरीगंगा नगर प्रमुख यज्ञप्रसाद ढकालले भूमिहीन नागरिकलाई जग्गा वितरण गर्ने संविधानले मौलिक हकको रुपमा व्यवस्था गरिए बमोजिम विभिन्न चरणका प्रक्रिया पूरा गरेर जग्गा धनी पुर्जा प्रदान गर्न सफल भएको बताए ।
जग्गाधनी पूर्जा वितरण गर्दै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले पूर्जा पाउनु खुसीको कुरा भएको बताए ।
वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रीत गरेको उनले उल्लेख गरे । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका उनले भूमि सम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै भूमि विधेयक पारित हुने बताए ।

नेपालीरैबार । २०८२ श्रावण ४, आईतवार