सल्यान । कर्णाली प्रदेशमा एक महिनाको अवधिमा दुई लाखभन्दा बढी बिरुवा रोपिएको छ । असार १४ देखि साउन १५ सम्म सञ्चालित सगरमाथा वृक्षरोपण महाअभियान अन्तर्गत १२७.९२८ हेक्टर क्षेत्रफलमा दुई लाख चार हजार ६८४ वटा विभिन्न जातका बिरुवा रोपिएको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका योजना शाखा प्रमुख महेश नेपालीका अनुसार महाअभियानमा सल्यानमा ४८ हजार तीन सय, कालीकोटमा २७ हजार दुई सय, डोल्पामा एक हजार ६१६, दैलेखमा १६ हजार १६०, हुम्लामा ५७६, जाजरकोटमा २८ हजार ४३२, सुर्खेतमा ३६ हजार ३२०, जुम्लामा ३८ हजार ८०, रुकुमपश्चिममा छ हजार चार सय र मुगुमा एक हजार छ सय वटा बिरुवा रोपिएको छ ।
सल्यान खलङ्गास्थित महाकवि लक्ष्मीप्रसाद देवकोटा पार्कमा वृक्षरोपणसहित आयोजित अभियानको समापन कार्यक्रममा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले वृक्षरोपणभन्दा बढी संरक्षण आवश्यक रहेको बताए । उनले भने, “हरेक वर्ष वृक्षरोपण गरिन्छ तर बिरुवा संरक्षण गरेर हुर्काउनु अझै महत्वपूर्ण छ ।”
मन्त्री अधिकारीले समुदायको सक्रिय सहभागिताबिना वन क्षेत्रको दिगो संरक्षण सम्भव नहुने उल्लेख गर्दै भने, “राजनीतिक, आर्थिक र सामाजिक क्रान्ति सम्पन्न भइसकेका छन् । अब हामीलाई हरित क्रान्ति चाहिएको छ ।” उनले सम्पूर्ण राजनीतिक दल, स्थानीय तह र नागरिक समाजलाई हरित क्रान्तिमा सहभागी हुन आग्रह गरे ।
सल्यानका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले वृक्षरोपणलाई आयआर्जनमा जोड्ने गरी सञ्चालन गरिनुपर्ने बताए ।
डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलका अनुसार वृक्षरोपण महाअभियान सकिए पनि जिल्लामा वृक्षरोपण कार्यलाई निरन्तरता दिइने छ । उहाँले सामुदायिक र राष्ट्रिय वन क्षेत्रलाई लक्ष्य गरी वृक्षरोपण अघि बढाइने जानकारी दिए ।









नेपालीरैबार । २०८२ श्रावण १८, आईतवार