यातायात व्यवस्था कार्यालय सुर्खेतले झन्डै ३१ करोड राजश्व संकलन गर्यो

सुर्खेत । यातायात व्यवस्था कार्यालय सुर्खेतले झन्डै ३१ करोड राजश्व संकलन गरेको छ ।
कार्यालयले गएको आर्थिक वर्ष २०८१/०८२ मा २८ करोड ८७ लाख बढि राजश्व प्रदेश सरकारलाइ  बुझाएको जनाएको छ ।


यस्तै संघिय सरकारलाइ १ करोड ६५ लाख बढि राजश्व उपल्बध गराइएकाे जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा २७ करोड २२ हजार ८ सय ६७ रुपैयाँ राजश्व भएको कार्यालयले जनाएको छ ।
अघिल्लो आर्थिक बर्षको तुलनामा यो बर्ष बढि राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयले यातायात क्षेत्रको आम्दानी, चालक अनुमति पत्र, सवारी दर्ता सम्बन्धी दस्तुर, सवारी साधन कर, प्रशासनिक दण्ड जरिवाना, अन्य प्रशासनिक सेवा शीर्षकमा कर संकलन गर्दै आएको छ ।
ती मध्य सबैभन्दा बढी सवारी साधन करबाट राजश्व संकलन गरेको हो ।
यस वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा बढी राजश्व संकलन भएको कार्यालय प्रमुख मुकुन्दनाथ योगीले जानकारी दिए ।
उनले यातायात क्षेत्रको अप्रेक्षित राजश्व बृद्धिका लागि कुनै एक पक्षको मात्र सुधार नभई बहुपक्षिय कानूनी तथा प्राविधिक सुधारको खाँचो रहेको औल्याए ।
उनले सडकहरुको स्तरोन्नती, संयुक्त अनुगमन, ट्र्याल सेन्टर निर्माण तथा परीक्षामा खटिने कर्मचारीको सेवा सुविधामा सुधारको तत्काल आवश्यकता रहेको बताए ।
सवारी अनुमति पत्रको दर्ता, नवीकरण र राजस्व संकलन गर्दै आएको कार्यालयमा दैनिक भीडभाड हुँदै आएको छ।
कार्यालय प्रमुख योगीले भीडभाड हुने यातायात कार्यालयमा सेवाग्राहीको अनुपातमा कर्मचारी दरबन्दी कम भएको बताए ।
२५ जना कर्मचारी आवश्यक भएपनि हाल १५ जनामात्रै कर्मचारी कार्यरत रहेका छन् ।

तपाईको प्रतिक्रिया