सुर्खेत । नेपालको सबभन्दा अग्लो कालीकोटको पचाल झरना सरकारले पर्यटकीय गन्तव्यमा सूचीकृत भएसँगै पचाल झरनाका बारेमा क्युआर कोडबाट जानकारी लिन सकिने भएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका सयवटा प्रमुख गन्तव्यमध्ये कालीकोटको पचाल झरनालाई ६४औं स्थानमा सूचीकृत गरेसँगै क्युआर कोडबाटै जानकारी लिन पाइने भएको हो ।
झरनाको प्रचार–प्रसारका लागि नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहकार्यमा सूचना प्रविधिमैत्री क्युआर कोड बनाएर पर्यटन बोर्डले गाउँपालिकालाई हस्तान्तरण गरेको पालिकाका सूचना प्रविधि अधिकृत प्रकाशकुमार कठायतले बताए ।
पचाल झरनाको प्रचार–प्रसारका लागि नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहकार्यमा सूचना प्रविधिमैत्री क्युआर कोड बनाएर पर्यटन बोर्डमा राखिएको र एउटा क्युआर गाउँपालिकालाई हस्तान्त्रण गरेको पचाल झरना गाउँपालिकाकी उपाध्यक्ष अल्किना बमले बताइन् ।
‘क्युआर कोडको फ्रेम मैले बुझेर ल्याइसकेको छु’, उनले भनिन्, ‘यसले आन्तरिक र बाह्य पर्यटकलाई सूचना लिन सहज हुनेछ। पचाल झरनाको बारेका क्युआर कोडबाट जानकारी लिन सक्नुका साथै होमस्टे, प्रतीक्षालय, स्यासलङसहितको बाटोसमेत तयार भएको छ।’
कालीकोटको पचाल झरना गाउँपालिका(३ मा पर्ने पर्यटकीय पचाल झरना तीन सय ८१ मिटर अग्लो रहेको गाउँपालिकाले दाबी गर्दै आएको छ । त्यसअघि नेपालको सबभन्दा अग्लो भनिँदै आएको तेह्रथुमको ह्यातुङ झरनाको उचाइ तीन सय ६५ मिटर मात्र रहेको छ ।
समुद्री सतहबाट नौ सय ७० मिटर उचाइमा रहेको एक ठाउँमा थोरै ठोक्किएको लम्बाइ जोड्दा त पचाल झरनाको लम्बाइ चार सय १५ मिटर रहेको गाउँपालिकाका प्राविधिक कुलप्रसाद न्यौपानेले जानकारी दिए । ‘हामीले पचाल झरनाको नापजाँच गर्दा तीन सय ८१ मिटर अग्लो रहेको छ’, उनले भने, ‘बीचमा झरना ठोक्किएको भाग जोड्दा चार सय १५ मिटर अग्लो रहेको छ ।’
पचाल झरनामा पुग्न कर्णाली करिडोरको लाफागाडबाट तीन घन्टा पैदल र एक घन्टा गाडीमा पुग्न सकिन्छ । झरनाको शिरमा डाँफे कालिजलगायतका चराचुरुंगी र घोरल, कस्तुरी, बनेल, हिमाली कालो भालुलगायतका वन्यजन्तु पाइन्छन् । पर्यटकलाई खान, बस्न खार्दु गाउँका पाँच घरमा होमस्टे पनि सञ्चालन भएका छन् ।
झरनासम्म पुग्नका लागि रेलिङसहितको गोरेटो बाटो निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । पचाल झरनासम्म पुग्ने सडक, पैदल मार्ग, सूचना केन्द्रलगायतका पूर्वाधार विकासका लागि १२ करोड खर्च भएको गाउँपालिकाले जनाएको छ ।









नेपालीरैबार । २०८२ श्रावण २२, बिहीबार