सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले सत्तासाझेदार नेपाली कांग्रेसले सहकार्यको राजनीतिक संस्कृति विपरित व्यवहार गर्दै आएको आरोप लगाएको छ । एमाले संसदीय दलको आज बिहान बसेको बैठकले सत्ता साझेदारीको मर्मअनुसार नचलेको भन्दै गम्भीर असन्तुष्टि जनाएको हो ।
संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईँका अनुसार केन्द्रमा भएको समझदारीका आधारमा कर्णालीमा सत्ता गठबन्धन कायम भए पनि कांग्रेसका व्यवहारले साझेदारीको आत्मा समाप्त गर्ने खालको धारणा राखिएको छ। बैठकमा सहभागी प्रदेश सदस्यहरुद्वारा प्रदेश सभाकाे छैटौं अधिवेशनपछिको समिक्षासमेत गरिएको थियो ।
प्रमुख सचेतक पछाईँले भने सरकार संयुक्त हो, तर साझा सरकारभित्र रहेर पनि कांग्रेस स्वयंले ल्याएको बजेटको विरोध गर्नेदेखि आफ्नै मन्त्रीको निर्णयलाई सार्वजनिक रूपमा आलोचना गर्ने प्रवृत्ति देखिएको छ। यो सत्ता साझेदारीको मर्म विपरीत हो ।
बैठकमा काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारबाट बाहिरिने धम्की पटक–पटक दिएको घटनालाई पनि आलोचना गरिएको छ । एमाले प्रदेश सदस्यहरुद्वारा साझा सरकारमा एकता र सहकार्यको भावना हुनुपर्नेमा जोड दिइएको थियो ।
एमाले संसदीय दलले अबको दिनमा सरकारको बजेट कार्यान्वयनको स्थलगत निगरानी गर्ने, जनतासँग प्रत्यक्ष संवाद गर्दै प्रतिक्रियाहरू संकलन गर्ने र सरकारका काम–कारबाहीबारे व्यापक जानकारी जनस्तरसम्म पुर्याउने रणनीति अघि बढाउने निर्णय गरेको छ ।
साथै प्रदेश सदस्यहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रका गाउँ–बस्ती पुगेर आर्थिक वर्ष २०८२/0८३ का बजेटबारे जनअपेक्षा बुझ्न र सरकारका प्रयासहरू जनतासमक्ष राख्न निर्देशन दिइएको छ ।
बैठकमा मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलको अध्यक्षता रहेको थियो । बैठकले हालको सरकार कानूनी शासन कायम गर्न र आर्थिक अनुशासनमा अगाडि बढ्न सफल भएको निष्कर्ष पनि निकालेको छ।
एमाले दलका अनुसार सरकारले ल्याएका नीति कार्यक्रम र बजेट कार्यान्वयन प्रक्रियामा कानूनी आधार र पारदर्शिताको पालना भइरहेको छ । अब त्यसको मूल्यांकन जनस्तरमा गर्ने गरी सबै प्रदेश सदस्यहरुलाई सक्रिय गरिने निर्णय भएको हो ।









नेपालीरैबार । २०८२ श्रावण २२, बिहीबार