मुख्यमन्त्री ‍कँडेलकाे “एक्लो प्रयासमा” शर्माको व्यङ्ग्यात्मक प्रश्न “खोर्के खोलाबाट सरकार चलाउने?

सुर्खेत । कर्णाली प्रदेशसभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री यामलाल कँडेलमाथि तीव्र आक्रोशित देखिएका छन् ।

मुख्यमन्त्री कँडेलले आफ्नो मन्तव्यमा “एक्लो प्रयासले मात्रै केही हुँदैन” भन्दै सरकारको काम सोचेजस्तो अघि बढ्न नसकेको टिप्पणी गरेपछि, शर्माले सोही वाक्य समातेर प्रश्नहरूको वर्षा गरे । उनले यसलाई अपमानजनक, गैरजिम्मेवार र प्रदेशसभाकाे अवमूल्यन गर्ने प्रयासको संज्ञा दिँदै दर्जनौँ प्रतिप्रश्न सोधे ।

शर्माले व्यङ्ग्य गर्दै भने, “तपाईं भन्न खोज्नु भएको के हो—म एक्लै गएँ, लङ्का जितेँ ? कि क्याबिनेटमा म एक्लै छु, अरू मन्त्री अर्कै दिशामा छन्र कि सत्ता साझेदार दलले साथ दिएको छैन ?

उनले थपे, यदि एक्लो प्रयास भन्नाले प्रदेशसभालाई भेडाबाख्राको बथान ठान्नु भएको हो भने यो गलत हो। सदन छँदैछ भने काम सामूहिक जिम्मेवारीमा हुनुपर्छ। आफ्नो खोर्के खोलाबाट मात्र सरकार चलाउने हो भने यो सदनको के आवश्यकता ?

प्रतिपक्षले कहाँ रोकेको ? प्रमाण दिन चुनौती

शर्माले मुख्यमन्त्रीलाई प्रतिपक्षले कुनै राम्रो काममा अवरोध पुर्‍याएको ठोस प्रमाण दिन चुनौती दिए । उनले व्यङ्ग्य गर्दै भने, हामीले कहाँ रोकेर राख्यौं ? भन्नुस् न,मैले यति हजारलाई रोजगारी दिन खोजेको थिएँ, विपक्षीले रोकेको, पहिरोपीडितका लागि घर बनाउन खोज्दा रोक्यो, प्राविधिक कर्मचारी नियुक्ति गर्न लाग्दा रोकेको यस्तो सूची ल्याउनुस् ।

सरकारको असफलता औँल्याउँदै प्रहार

शर्माले ‘एक्लो प्रयास’ को दाबीलाई सरकारकै असफलताले खारेज गरेको दाबी गरे । “रङ्गशालाको भुक्तानी आजसम्म दिन सकेको छैन, यो पनि प्रतिपक्षको कारण हो? खेलकुद परिषद् महिनौँदेखि रिक्त छ । संवैधानिक निकायमा नियुक्ति भएको छैन । खेलकुद पूर्वाधार बजेट कार्यान्वयन हुन सकेको छैन, ठेक्का प्रक्रिया रोकिएको छ, उनले आरोप लगाए।

यस्तै शर्माले मुख्यमन्त्री मात्र होइन, सत्ता साझेदार दलका मन्त्री र नेताहरूलाई समेत सोधे, “किन मुख्यमन्त्रीलाई एक्लै हिँडाइराख्नु भएको छ? साथ दिनुस्, कुम बोकेर अघि बढ्नुस् ।

उनले बजेट निर्माणमा भएको ७ बुँदे समझदारीको कार्यान्वयन नभएको र १५ दिनभित्र दिनुपर्ने सूची अझै नआएको उल्लेख गर्दै असन्तुष्टि जनाए। साथै, कर्मचारी सरुवा र बढुवामा ‘छानी–छानी’ गरिएको पक्षपातपूर्ण व्यवहारको पनि आरोप लगाए ।

तपाईको प्रतिक्रिया