जुम्ला । जुम्ला तातोपानी गाउँपालिका–६ स्थित हियाखोला जिउलोमा चार वर्षपछि सिँचाइ पुगेको छ । २०७९ सालमा अविरल वर्षासँगै आएको बाढीले कुलो भत्काएपछि अधिकांश जमिन बाँझो बन्दै गएको थियो ।
अहिले तिला नदीदेखि झन्डै दुईकिलो मिटर उकालो पानी चढाएर जिउलोमा सिँचाइ ल्याइपुर्याएको तातोपानी गाउँपालिकाले जनाएको छ । धेरै वर्षपछि जिउलोमा पानी आएपछि किसान उत्साहित छन् । अब निरन्तर रुपमा मार्सीधान खेती हुनुका साथै स्याउ लगायतको फलफूल बगैंचामा सिँचाइ पुर्याउन सहज भएको छ ।
बाढीले बगाएको कुलो निर्माणका लागि संघीय सरकारले ८८ लाख रुपैयाँ छुट्याएको थियो । केन्द्र सरकारको बजेट र स्थानीय सरकारको तदारुकतापछि जिउलोमा पानी पुगेको हो ।
खेतीयोग्य जमिन बाँझो बनिरहेको थियो । धान रोपेका खेत चिरा परेर सुकिरहेका हुन्थे, तातोपानी गाउँपालिकाका इन्जिनियर डिल्ली बुढाले भने, ‘अहिले तिला नदीको पानी जिउलासम्म पुगेको छ ।’
उनका अनुसार झन्डै १४.४ हेक्टर धानखेती हुने जमिन र १६.६२ हेक्टर क्षेत्रफलमा फैलिएको स्याउ खेतीमा सिँचाइ पुगेको छ । तिला नदीदेखि आरभीटीसम्मको दुरी २५० मिटर छ । तिला नदीदेखि हियाखोला ट्यांकीसम्म १७ सय ९५ मिटर जीआई पाइप हालिएको छ । एचडीपीई पाइप २५० मिटरमा प्रयोग गरिएको छ, जसमा २० एचपी पम्प प्रयोग भएको छ, इन्जिनियर बुढाले थपे, ‘अब हियाखोलाबासीले सिचाइँ अभाव भोग्नुपर्ने अवस्था छैन ।’
सौर्य ऊर्जाबाट चलेको यो सिँचाइ आयोजना आवश्यकताअनुसार चौबिसै घण्टा चलाउन सकिने देखिएको छ । निकट भविष्यमै विद्युतबाट चलाइने गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए । उनले भने, ‘सिचाइँले हियाखोला जिउलो सुकिरहेको थियो । अब हराभरा हुनेछ । किसानले ढुक्कसँग कृषि उपज उत्पादन गर्न सक्नेछन् ।’









नेपालीरैबार । २०८२ श्रावण २३, शुक्रबार